• फागुन २८, सिन्धुली/सिन्धुलीका ३ जना खेलाडी अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि बागमती प्रदेशबाट एथ्लेटिक्सतर्फका ३ जना सिन्धुलीका खेलाडी छनोटमा परेका हुन् ।
    जिल्ला खेलकुद विकास समिति सिन्धुलीले दिएको जानकारीअनुसार कमलामाई नगरपालिकाका सुवास थापा र केशव गोले तथा दुधौली नगरपालिकाका रोशन कुमार दनुवार छनोटमा परेका छन् । थापा ८०० मिटर र ४ इन्टु ४०० मिटर रिलेमा छनोट भएका हुन् । गोले ४०० मिटर हल्डर्स र ४ इन्टु ४०० मिटर रिले प्रतिस्पर्धाका लागि छानिएका छन् । अर्का खेलाडी दनुवार हाईजम्प स्पर्धाका लागि छनोट भएका हुन् ।
    छनोट प्रतियोगितामा बागमती प्रदेशअन्तर्गतका १३ वटा जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिक्सतर्फ सिन्धुलीका थापा, गोले र दनुवारले अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्थान सुरिक्षत गरेका हुन् ।
    प्रतियोगिता आगामी चैत २५ गतेदेखि वैशाख १ गतेसम्म चितवनमा आयोजना हुँदैछ । चितवनमा हुने प्रतिस्पर्धामा १३ वटा खेल समावेश गरिने जनाइएको छ । जसमा पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आइटिएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङ रहेका छन् । एथलेटिक्स प्रतियोगिता भने काठमाडौंमा आयोजना हुने परिषद्ले जनाएको छ ।