चकमकेमा फुटबल प्रतियोगिता हुने, विजेताले ३५ हजार पाउने
सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका-११ चकमकेमा विजया दशमीको अवसरमा पालिकास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
दशैंको अवसरलाई खेलकुदसँग जोड्दै स्थानीय युवाको प्रतिभा पहिचान, खेलकुदको विकास तथा खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा र आपसी भाइचाराको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
असोज २७ देखि ३१ गतेसम्म संचालन हुने प्रतियोगिता सेती सुन्दरी युवा क्लब चकमकेको आयोजनामा हुन लागेको हो ।प्रतियोगिताको विजेताले ३५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रोत्साहन गर्न उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिनेछ ।
आयोजकको अनुसार प्रतियोगिताका लागि गाउँपालिकाबाट कुनै आर्थिक सहयोग प्राप्त भएको छैन । स्थानीय युवाहरूको आफ्नै लगानी तथा सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा टोलीले २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क र १ हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। इच्छुक टोलीलाई समयमै दर्ता गराउन आयोजकले आग्रह गरेको छ ।


