हरिहरपुरगढीमा खोरेत रोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले पशुमा लाग्ने खोरेत रोगको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका उपायबारे कृषक तथा सरोकारवालालाई सचेत गराउने उद्देश्यले वडास्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रममा खोरेत रोगको पहिचान, रोग सर्ने माध्यम, रोकथामका उपाय, खोप कार्यक्रमको महत्व तथा रोग देखापरेमा अपनाउनुपर्ने सावधानी र नियन्त्रणका रणनीतिबारे जानकारी प्रदान गरिनेछ ।

कार्यक्रममा पशु स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी, कृषक समूहका प्रतिनिधि, वडाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहनेछ । सहभागीहरूबीच रोगसम्बन्धी जिज्ञासा, अनुभव तथा सुझाव आदानप्रदान गर्ने अवसरसमेत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । साथै खोरेत रोग नियन्त्रणका लागि आवश्यक औषधिहरु समेत वितरण गरिने जनाइएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार अभिमुखीकरण कार्यक्रम मंसिर ११ गतेदेखि २२ गतेसम्म विभिन्न आठवटै वडामा सञ्चालन हुनेछ ।

कार्यक्रमको तालिका अनुसार मंसिर ११ गते वडा नं. १ को जितपुरडाँडा, मंसिर १४ गते वडा नं. २ को बखफर, मंसिर १५ गते वडा नं. ३ को रानीपानी र मंसिर १६ गते वडा नं. ४ को बेलपुरमा कार्यक्रम आयोजना हुनेछ ।

त्यसैगरी मंसिर १७ गते वडा नं. ५ को वडा कार्यालय, मंसिर १८ गते वडा नं. ६ को राँगेदोभान, मंसिर २१ गते वडा नं. ७ को क्वाटर र मंसिर २२ गते वडा नं. ८ को पान्तलेस्थित वडा कार्यालयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

सबै वडामा कार्यक्रम बिहान ९ बजेदेखि सुरु हुने गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ ।कार्यक्रममा सहभागी भई पशु स्वास्थ्य तथा रोग नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *