न्यू साँस्कृतिक युवा क्लवको देउसी-भैलो कार्यक्रम सम्पन्न, ८३ हजार ८१५ रुपैयाँ संकलन
सिन्धुली/न्यू साँस्कृतिक युवा क्लव झुँगाखोला, तीनपाटन गाउँपालिका १ बेलघारी सिन्धुलीको देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ ।
शुभ दीपावलीको अवसरमा लक्ष्मीपूजाको दिनदेखि लगातार पाँच दिनसम्म सञ्चालन गरिएको देउसी-भैलो कार्यक्रमबाट ८३ हजार ८१५ रुपैयाँ संकलन भएको छ ।
क्लवका सदस्य शिव हमालको संयोजकत्वमा क्लवका सदस्य तथा स्थानीयवासीको सक्रिय सहभागितामा झुँगा देउराली, तिन्तले, भडार र सान्झुगाँ टोलमा देउसी-भैलो कार्यक्रम सञ्चालन गरिएको थियो ।
क्लवका अध्यक्ष सन्तोष समालको अध्यक्षता तथा वडा नं. १ का वडाध्यक्ष गोविन्द राउतको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा देउसी-भैलो अभियानमा सबैभन्दा बढी दान गर्ने दाताहरू सोममाया अधिकारी, तुलसी काफ्ले र गोपाल बुढाथोकीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रम सफल बनाउन सबैभन्दा बढी सक्रिय भूमिका निर्वाह गर्ने स्यामबहादुर वि.क., विशेष दानदाता कृष्णबहादुर वि.क. र ईश्वर रानालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विशेष सहयोग पु¥याएको भन्दै लिला रैकालाई समेत सम्मान गरिएको क्लवले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष गोविन्द राउतले देउसी-भैलोजस्ता सांस्कृतिक कार्यक्रमले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुका साथै आर्थिक संकलनमा समेत सहयोग पु¥याउने बताउनुभयो । यसरी संकलित रकमले गाउँघरका आर्थिक तथा सामाजिक समस्या समाधान गर्न र सामान्य जीविकोपार्जनमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो ।
क्लवको अनुसार विगतका वर्षहरूमा देउसी -भैलोबाट संकलित रकम सामाजिक कार्य तथा भोजभतेरमा प्रयोग हुने ठूला-साना भाँडाकुँडा, टेन्ट र बाजागाजा खरिद गर्न तथा क्लव भवन निर्माणमा खर्च गरिएको छ । त्यस्तै क्लवका सदस्यहरूबीच प्रत्येक तीन-तीन महिनामा लगानी तथा रकम फिर्ता गर्ने गरी सञ्चालन गरिएको घुम्ती कोषमा हाल २ लाख ८२ हजार रुपैयाँ रहेको जानकारी गराइएको छ ।
यस वर्ष देउसी-भैलो संकलित रकम पनि सामाजिक कार्यमा खर्च गरिने क्लवका अध्यक्ष सन्तोष समालले बताउनुभयो । कार्यक्रम क्लवका सचिव अविनास अधिकारीले सञ्चालन गर्नुभएको थियो ।


