सर्लाहीको बयलबासमा ‘द लर्निङ गार्डेन सेन्टर’ सञ्चालनमा, विपन्न बालबालिकाले निःशुल्क ट्युसन पढ्न पाउने
सर्लाही/सर्लाहीको बयलबास क्षेत्रमा आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका बालबालिकालाई लक्षित गर्दै आधुनिक तथा सुविधासम्पन्न ‘द लर्निङ गार्डेन सेन्टर’ सञ्चालनमा आएको छ ।
बालबालिकालाई निःशुल्क ट्युसन, शैक्षिक परामर्श तथा अतिरिक्त सिकाइका अवसर उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको केन्द्रको एक विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको हो ।
नेदरल्याण्ड सपोर्ट नेपालका आर्थिक सहयोग तथा टुगेदर फर नेपाल को प्रत्यक्ष समन्वयमा केन्द्र निर्माण गरिएको हो ।
आर्थिक अभावका कारण अतिरिक्त कक्षा तथा ट्युसन पढ्नबाट वञ्चित बालबालिकालाई गुणस्तरीय शैक्षिक सहयोग प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो। केन्द्रमा आउने बालबालिकाले पूर्ण रूपमा निःशुल्क पठनपाठन, शैक्षिक परामर्श तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुने अवसर पाउने आयोजकले जानकारी दिएको छ ।
दुई कठ्ठा क्षेत्रफलमा फैलिएको केन्द्रमा बालबालिकाको सहज पठनपाठन, स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आवश्यक भौतिक पूर्वाधार समेत निर्माण गरिएको छ ।
केन्द्रमा १ हजार ८ सय वर्गफिट क्षेत्रफलको फराकिलो सिकाइ हल, प्रशासनिक कामका लागि कार्यालय कक्ष, पुस्तकालय तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि भण्डारण कक्ष समेत निर्माण गरिएको छ ।
त्यस्तै सरसफाइलाई प्राथमिकता दिँदै चारवटा प्यान शौचालय, दुईवटा कमोड शौचालय तथा छात्रहरूका लागि आठवटा युरिनल क्षमता सहितको छुट्टै ब्वाइज युरिनलको व्यवस्था गरिएको छ ।
केन्द्रको अर्को विशेष आकर्षण बालमैत्री शैक्षिक बगैँचा हो। दुई कठ्ठा परिसरमा अंग्रेजी वर्णमालाका अक्षरहरूसँग सम्बन्धित हुने गरी विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा व्यवस्थित रूपमा रोपिएका छन् ।
उद्घाटन कार्यक्रममा सहभागी वडाध्यक्ष तथा वडा सचिवले बयलबासमा बालबालिकाको शैक्षिक विकासलाई लक्षित गरी उदाहरणीय परियोजना सञ्चालनमा ल्याएकोमा नेदरल्याण्ड सपोर्ट नेपाल, टुगेदर फर नेपाल तथा निर्माण र व्यवस्थापनमा संलग्न सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गरेका छन् ।
आर्थिक अवस्थाकै कारण गुणस्तरीय अतिरिक्त शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन सहयोग पुग्ने विश्वास गरिएको यस केन्द्रले बयलबास क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा दातृ निकायका प्रतिनिधि, समन्वयकारी संस्था, स्थानीय सञ्चालक तथा प्रयोगकर्ता संस्थाका प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष, वडा सचिव, स्थानीय बुद्धिजीवी, अभिभावक तथा बालबालिकाको उपस्थिति रहेको थियो ।


