मातृमृत्यु शून्यमा झर्दा नवजात शिशुको मृत्यु पाँच पुग्यो
सिन्धुली/सिन्धुलीमा मातृमृत्युको अवस्थामा सुधार देखिए पनि नवजात शिशुको मृत्यु भने बढ्दै गएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मातृमृत्यु शून्य रहेको छ भने सो अवधिमा नवजात शिशुको मृत्यु बढेर पाँच पुगेको छ ।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा दुई जना नवजात शिशुको मृत्यु भएको थियो। । आर्थिक वर्ष २०८१/०८२ मा यो सङ्ख्या घटेर एकमा झरेको थियो तर आर्थिक वर्ष २०८२/०८३ मा भने नवजात शिशुको मृत्यु बढेर पाँच पुगेको कार्यालयले जानकारी दिएको छ ।
नवजात शिशुको मृत्युमा आएको वृद्धिले जिल्लामा मातृ र शिशु स्वास्थ्य सेवाको प्रभावकारिता, सुरक्षित प्रसूति र जन्मपछिको शिशु स्याहारमा थप ध्यान दिनुपर्ने देखाएको छ ।
त्यस्तै फेरी यता मातृमृत्युको अवस्था भने पछिल्लो आर्थिक वर्षमा सुधार भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा दुई जना र २०८१/०८२ मा पनि दुई जना सुत्केरी आमाको मृत्यु भएको थियो तर आर्थिक वर्ष २०८२/०८३ मा कुनै पनी स्थानीय तहहरुबाट जनस्वास्थ्य कार्यालय सिन्धुलीमा प्राप्त तथ्याङ्क अनुसार मातृमृत्यु शून्य रहेको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख विमल पटेलका अनुसार पछिल्लो आर्थिक वर्षमा मातृमृत्युको सङ्ख्या शून्य रहेको छ । नवजात शिशुको मृत्यु बढेर पाँच पुग्नु स्वास्थ्य क्षेत्रका लागि चिन्ताको विषय बनेको छ ।
विशेषगरी किशोरावस्थामै गर्भधारण हुनु र घरमै सुत्केरी हुने क्रम कायम रहनुले सुरक्षित मातृत्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
त्यस्तै नवजात शिशुको मृत्युका कारण पहिचान गरी गर्भावस्थादेखि नै नियमित निगरानी, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा तथा जन्मिएपछि नवजात शिशुको उचित स्याहार र उपचारको व्यवस्था प्रभावकारी बनाउन आवश्यक छ ।


