किसानलाई लक्षित गर्दै गाउँपालिकाद्वारा माटो परीक्षण शिविर सञ्चालन गरिने

सिन्धुली/कृषकहरूको खेतबारीको माटोको अवस्था पहिचान गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सिन्धुलीको घ्याङलेख गाउँपालिकाले माटो परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा किसानहरूको खेतबारीको माटोमा रहेको अम्लीयपन तथा मुख्य खाद्यतत्त्व नाइट्रोजन , फस्फोरस र पोटासियमको अवस्था परीक्षण गर्न शिविर सञ्चालन गर्न लागिएको पालिकाले सूचना प्रकाशन गर्दे जानकारी दिएको हो ।

शिविरमार्फत किसानहरूले आफ्नो खेतबारीको माटोको तथा प्रमुख खाद्यतत्त्वको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यसबाट माटोको वास्तविक अवस्था पहिचान गरी आवश्यकताअनुसार मलखादको प्रयोग तथा खेती व्यवस्थापन गर्न किसानलाई सहयोग पुग्ने अपेक्षा गरिएको पालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले माटोको नमुना सङ्कलन तथा बुझाउने कार्यका लागि वडा अनुसार मिति र स्थानसमेत निर्धारण गरेको छ । जसअनुसार मंसिर १० गते वडा नं. ५ को कार्यालय, ११ गते वडा नं. ४ को कार्यालय, १२ गते वडा नं. ३ को कार्यालय, १३ गते वडा नं. १ को कार्यालय र १४ गते वडा नं. २ को कार्यालयमा माटोको नमुना बुझाउन सकिनेछ ।नमुना बुझाउने समय बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको सूचना उल्लेख गरीएको छ ।

गाउँपालिकाले किसानहरूलाई तोकिएको विधिअनुसार माटोको नमुना सङ्कलन गरी आफ्नो नाम, ठेगाना र वडा नम्बर स्पष्ट उल्लेख गरेर बुझाउन अनुरोध समेत गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *