सिन्धुलीमा छठको तयारी, खोलाका किनारमा चहलपहल
सिन्धुली/कुनै समय सिन्धुलीमा छठ पर्वको खासै चहलपहल देखिँदैनथ्यो ।
तर अहिले अवस्था फेरिएको छ । तराई समुदायको बाक्लो उपस्थिति रहेको सिन्धुलीमा पछिल्ला वर्षहरूमा छठ पर्वको रौनक र आकर्षण बढ्दै गएको छ । सदरमुकाम तथा आसपासका खोलानाला, पोखरी र जलाशयहरूमा यतिबेला छठ पर्वको उल्लासले भरिन थालेको छ ।
महापर्व छठको आज तेस्रो दिन । आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने भएकाले सिन्धुलीका पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको छ । व्रतालु तथा श्रद्धालुहरू यतिबेला पूजाका सामग्री जुटाउन र घाट सजाउन निकै व्यस्त देखिएका छन् ।
छठ पर्वका लागि जिल्लाका विभिन्न जलाशय तथा घाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम भइरहेको छ । जलाशयका किनारमा पूजास्थल निर्माण गर्ने, घाट सफा गर्ने तथा बत्ती र सजावटका सामग्री राख्ने कामले पर्वको रौनक थपिएको छ देख्न सकिन्छ ।

तराई समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छठ पछिल्लो समय सिन्धुलीमा पनि लोकप्रिय बन्दै गएको छ । केही वर्षअघिसम्म जिल्लामा छठ पर्वको उपस्थिति न्यून देखिए पनि अहिले सदरमुकाम आसपासका खोलानालामा भक्तजनको बाक्लो उपस्थिति देखिन थालेको छ ।
आफूले चिताएका मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ व्रतालुहरू श्रद्धापूर्वक छठी माता र सूर्यदेवको पूजा आराधना गर्न गरेको बताउछन् । छठको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समापन गरिन्छ ।


