कमलामाईमा एनपीएल फाइनल प्रत्यक्ष प्रसारण हुने
सिन्धुली/नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेललाई लक्षित गर्दै कमलामाई नगरपालिकाले नगरवासीका लागि सामूहिक रूपमा खेल हेर्ने व्यवस्था मिलाएको छ ।
नगरपालिकाको स्मार्ट बोर्डमा आज शनिबार साँझ ५ बजेदेखि फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिने भएको कमलामाई नगरपालीकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो ।
नेपाली क्रिकेटप्रति आम नागरिकको आकर्षण र समर्थनलाई प्रोत्साहन गर्नुका साथै खेलको खुसी सामूहिक रूपमा साटासाट गर्ने उद्देश्यले प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको हो ।
यसपटकको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्ने दाउमा रहेको छ ।
यी दुई टोलीबीच गत संस्करणको फाइनलमा पनि भिडन्त भएको थियो । त्यतिबेला सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि आफ्नो पक्षमा पारेको थियो । यसकारण पनि यस वर्षको फाइनललाई अघिल्लो संस्करणको प्रतिस्पर्धाको निरन्तरताका रूपमा हेरिएको छ।
साँझ ५ बजेदेखि हुने प्रत्यक्ष प्रसारणमा सहभागी भई एनपीएल फाइनलको रोमाञ्चकता सँगै अनुभव गर्न नगरपालिकाले सबै नगरवासीलाई निमन्त्रणा समेत गरेको छ ।


