मूल्याङ्कनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली बागमती प्रदेशमै दोस्रो

सिन्धुली/बागमती प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुली जिल्लाले दुई विधामा दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशद्वारा आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीका क्रममा गरिएको मूल्याङ्कनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले ७१.७५ प्रतिशत अंक प्राप्त गर्दै प्रदेशभरिका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।

त्यसैगरी फेरीयता अस्पतालतर्फ पनि सिन्धुली अस्पतालले पनि दोस्रो स्थान हासिल गरेको छ । एउटै जिल्लाका दुई स्वास्थ्य संस्थाले प्रदेशस्तरको मूल्याङ्कनमा दोस्रो स्थान प्राप्त गर्नुलाई सिन्धुली जिल्लाको स्वास्थ्य सेवा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा समेत लिइएको छ ।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका कार्यालय प्रमुख दीपकराज तिमल्सिनाले चिकित्सालयलाई यो स्थानसम्म पु¥याउन योगदान गर्ने सम्पूर्णप्रति हार्दिक आभार समेत व्यक्त गर्नुभएको छ ।

त्यस्तै उहाँले अहोरात्र खटिने चिकित्सालयका सम्पूर्ण कर्मचारी, सञ्चालन तथा व्यवस्थापन समिति, सेवाग्राही, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, शुभचिन्तक तथा सरोकारवाला निकायहरूको सामूहिक प्रयास र सहयोगकै कारण यो सफलता प्राप्त भएको बताउनुभएको छ ।

चिकित्सालयले आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै नागरिकलाई प्रभावकारी र गुणस्तरीय आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धता  समेत व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *