सिन्धुलीमा एक वर्षमा ३४६ किशोरी आमा बने, २११ जना घरमै सुत्केरी
सिन्धुली/सिन्धुलीमा कम उमेरमै आमा बन्ने र घरमै सुत्केरी हुने क्रम अझै रोकिएको छैन ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा २० वर्षभन्दा कम उमेरका ३ सय ४६ जना महिलाले शिशु जन्माएका छन् । त्यस्तै सोही अवधिमा २ सय ११ जना महिलाहरु घरमै सुत्केरी भएका छन् ।
कार्यालयको अनुसार गत आर्थिक वर्षमा जिल्लामा कुल १ हजार ९ सय ५५ जना महिला सुत्केरी भएका थिए । तीमध्ये १ हजार ७ सय ४४ जना अस्पताल तथा बर्थिङ सेन्टरमा र २ सय ११ जना घरमै सुत्केरी भएका जनस्वास्थ्य कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी हुनेमध्ये १ हजार ४ सय २३ जना २० वर्षभन्दा माथिका र ३ सय २१ जना २० वर्षभन्दा कम उमेरका महिला छन् । त्यस्तै फेरी यता घरमै सुत्केरी हुनेमध्ये १ सय ८६ जना २० वर्षभन्दा माथिका र २५ जना २० वर्षभन्दा कम उमेरका महिला रहेका छन् ।
स्थानीय तहगत अनुसार विवरण हेर्न हो भने स्वास्थ्य संस्थामा सबैभन्दा बढी कमलामाई नगरपालिकामा ६ सय ८९ जना महिलाहरु सुत्केरी भएका छन् । दुधौलीमा ३ सय ६७, हरिहरपुरगढीमा १ सय ७०, मरिणमा १ सय ६८ र तीनपाटनमा १ सय २९ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।
त्यस्तैगरी फिक्कलमा ७६, गोलन्जोरमा ६९, सुनकोशीमा ४६ र घ्याङलेखमा ३० जना महिला अस्पताल तथा बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् ।
घरमै सुत्केरी हुनेमा दुधौली नगरपालिका सबैभन्दा अगाडि छ । दुधौलीमा ४० जना महिला घरमै सुत्केरी भएका छन् । तीनपाटनमा ३९, हरिहरपुरगढीमा ३६, मरिणमा ३३, कमलामाईमा २१, गोलन्जोरमा १६, घ्याङलेखमा १४, सुनकोशीमा ८ र फिक्कलमा ४ जना महिला घरमै सुत्केरी भएका तथ्याङ्कले देखाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख बिमल पटेलको अनुसार २० वर्षभन्दा कम उमेरमा शिशु जन्माउने क्रम अपेक्षाअनुसार घटाउन नसकिएको बताउनुभयो । कम उमेरमा हुने विवाह र गर्भधारण न्यूनीकरणका गर्नको लागि स्वास्थ्य संस्था, स्थानीय तह, विद्यालय, परिवार र समुदायस्तरबाट समेत निरन्तर पहल आवश्यक रहेको उहाँको भनाइ छ ।
“२० वर्षभन्दा कम उमेरमा शिशु जन्माउने क्रम पनि कायम नै छ,” उहाँले भन्नुभयो, “यसलाई घटाउन बालविवाह न्यूनीकरणमा सबै सरोकारवाला लाग्न आवश्यक छ ।”


