लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन अन्तरक्रिया कार्यक्रम
सिन्धुली/लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा ‘लैङ्गिक हिंसाको असर र निवारणका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ।
नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२६ सम्म सञ्चालन हुने अभियान अन्तर्गत बुधबार कमलामाई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व सांसद तथा अधिवक्ता सुशीला थिङले प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। उहाँले लैङ्गिक हिंसाका विभिन्न स्वरूप, यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने असर, हिंसाका कारण र यसको रोकथाम तथा न्यूनीकरणका उपायबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा तथा इकाईका प्रमुखहरू, संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रियाका क्रममा सहभागीहरूले लैङ्गिक हिंसाका विद्यमान अवस्था, चुनौती तथा समाधानका उपायबारे विचार आदानप्रदान गरेका थिए । छलफलले लैङ्गिक हिंसाविरुद्ध सामूहिक सचेतना अभिवृद्धि गर्नुका साथै समानता, सम्मान र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।
कार्यक्रमले लैङ्गिक हिंसा अन्त्यका लागि व्यक्ति, परिवार, समुदाय तथा स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
‘लैङ्गिक हिंसा अन्त्य गरौँ, समानता र सम्मानयुक्त समाज निर्माण गरौँ’ भन्ने सन्देशसहित कमलामाई नगरपालिकाले अभियानका गतिविधिमार्फत हिंसामुक्त र सुरक्षित समाज निर्माणमा जोड दिएको छ ।


