कमलामाईमा सातदिने सीपमूलक तालिम सञ्चालन

सिन्धुली ।/सिन्धुलीको कमलामाई नगरपालिकाको उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा महिला उद्यमीहरूका लागि सातदिने महिला श्रृङ्गार सामग्री उत्पादन सम्बन्धी सीपमूलक तालिम सञ्चालन भइरहेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त अनुदान तथा नगरपालिकाको लागत साझेदारीमा स्तरोन्नति कार्यक्रम अन्तर्गत कमलामाई ६ स्थित रातमाटा प्लानिङमा तालिम सञ्चालन भएको छ ।

सजावटका विभिन्न सामग्री उत्पादन गर्दै आएका तथा यसअघि सोही प्रकृतिका सीपमूलक तालिम लिएका पुराना उद्यमीहरूको सीप पुनर्ताजगी गराउने, उत्पादनमा विविधीकरण ल्याउने र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नगरपालिकाले जनकारी दिएको छ ।

गत २ गतेदेखि सुरु भएको तालिम ८ गतेसम्म सात सञ्चालन हुनेछ । तालिम प्रशिक्षक बिनिता प्रधानले सहजीकरण गरिरहनुभएको छ भने ६ जना महिलाको सहभागिता रहेको छ ।

तालिममा सहभागी महिलाहरूले पनि निकै चासो र ध्यानपूर्वक नयाँ सीप सिकिरहेका छन् । यसअघि गत वर्ष नगरपालिकाले बुके बनाउने तालिम प्रदान गरेको थियो । उक्त तालिमबाट सीप सिकेका अधिकांश महिलाले अहिले त्यसलाई व्यवहारमा उतार्न थालेका छन् । केहीले अनलाइनमार्फत आफ्ना उत्पादन बिक्री गरिरहेका छन् भने केहीले घरबाटै व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

गत वर्ष सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरेका महिलाहरूलाई थप अवसर सिर्जना गर्ने उद्देश्यले यसपटक क्रिस्टलबाट बन्ने विभिन्न सजावट तथा श्रृङ्गार सामग्री उत्पादन गर्ने सीप सिकाइरको तालिमका प्रशिक्षक बिनिता प्रधानले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।

तालिमले महिलाहरूलाई सीपमा निखार ल्याउन, नयाँ सामग्री उत्पादन गर्न, स्वरोजगार बन्न तथा आयआर्जनका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *