‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै सिन्धुलीका पत्रकार सडकमा

सिन्धुली । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडविरुद्ध नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले विरोध प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघले देशव्यापी रूपमा घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज बुधबार सिन्धुलका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको परिसरमा विरोध प्रदर्शन तथा धर्ना दिएका हुन।

‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित ब्यानर प्रदर्शन गरेका पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सञ्चारमाध्यममाथिको धरपकड तथा श्रमजीवी पत्रकारहरुको समस्याविरुद्ध पत्रकारहरुले आवाज उठाएका थिए ।

विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले सरकारको पत्रकारप्रतिको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सरकारले पत्रकारमाथि गरिरहेको व्यवहार उचित नभएको बताउँदै नयाँ सरकारबाट नागरिकले धेरै अपेक्षा राखे पनि त्यसअनुरूपको परिणाम आउन नसकेको टिप्पणी गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटाले पत्रकारका जायज माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पत्रकारमाथि भइरहेको धरपकड र सञ्चारमाध्यममाथिको हस्तक्षेप रोक्नुपर्नेमा जोड दिनुभयो । पत्रकारको पेसागत सुरक्षा, श्रमजीवी पत्रकारको हकहित तथा स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो ।

महासंघले सञ्चारगृहमा अवरोध सिर्जना गर्ने, सञ्चारमाध्यममाथि धरपकड गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने, लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती गर्ने तथा श्रमजीवी पत्रकारलाई निष्कासन गर्नेजस्ता गतिविधिप्रति विरोध जनाउँदै आएको छ ।

प्रदर्शनमा महासंघका पूर्वसभापति, शाखाका पदाधिकारी तथा सदस्य र विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *