लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालनबारे समन्वय बैठक
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने सम्बन्धमा सरोकारवाला निकायहरूसँग समन्वय बैठक बसेको छ ।
आज ७ गते सोमबार नगरपालिकाका कार्यवाहक नगरप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा बैठक भएको हो ।
बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख तथा कर्मचारीहरू, सुरक्षा निकायका प्रतिनिधिहरू लगायत अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
बैठकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा महत्वपूर्ण छलफल समेत गरिएको थियो । समाजबाट सबै प्रकारका हिंसा अन्त्य गर्दै जनचेतना अभिवृद्धि गर्न अभियानलाई सफल बनाउन सहभागी सरोकारवालाहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।


