प्रेस स्वतन्त्रताको पक्षमा पत्रकार महासंघको धर्ना, सिन्धुलीमा रास्वपा कार्यालय अगाडि प्रदर्शन

सिन्धुली/प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सञ्चारमाध्यममाथि हुने हस्तक्षेप रोक्न माग गर्दै नेपाल पत्रकार महासंघले थालेको दोस्रो चरणको आन्दोलन सिन्धुलीमा पनि जारी रहेको छ ।

आन्दोलनको कार्यक्रमअन्तर्गत नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय अगाडि एक घण्टा धर्ना दिएको छ । बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालित धर्नामा पत्रकारहरूले प्रेस स्वतन्त्रताको सुनिश्चितता, पत्रकारको पेशागत सुरक्षा र सञ्चार क्षेत्रमाथिको हस्तक्षेप अन्त्य गर्न माग गरेका थिए ।

धर्नामा सहभागी पत्रकारहरूले विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गर्दै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने सन्देश दिएका थिए । उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान, प्रेस काउन्सिल ऐनमाथिको हस्तक्षेप बन्द, लोककल्याणकारी विज्ञापनको रकम पारदर्शी वितरण तथा स्वतन्त्र प्रेसको सुनिश्चितताको माग गरेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा देशभरका शाखाहरूले राजनीतिक दलका कार्यालय केन्द्रित धर्ना तथा विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन् । महासंघले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत हकहित र नागरिकको सूचनाको अधिकारको संरक्षणका लागि आन्दोलनलाई निरन्तरता दिने जनाएको छ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *