देउसी-भैलोबाट जुट्यो १ लाख ३६ हजार रुपैयाँ, सदुपयोगबारे आज आमभेलामा छलफल

सिन्धुली/देउराली युवा क्लब कमलामाई नगरपालिका-४ सिन्धुलीले तिहारको अवसरमा सञ्चालन गरेको देउसी-भैलो कार्यक्रमबाट संकलित १ लाख ३६ हजार ८ सय ६० रुपैयाँको विवरण आज आमभेला मार्फत सार्वजनिक गरेको छ ।

क्लबले लगातार ८ दिनसम्म सञ्चालन गरेको देउसी-भैलोबाट १ लाख २३ हजार १ सय ९५ रुपैयाँ संकलन गरेको थियो भने विभिन्न व्यक्तिहरूबाट थप १३ हजार ६ सय ६५ रुपैयाँ सहयोग प्राप्त भएको थियो । यसरी देउसी–भैलो र सहयोग रकमसहित कुल १ लाख ३६ हजार ८ सय ६० रुपैयाँ संकलन भएको हो ।

आज आयोजित आमभेलामा संकलित रकम आगामी दिनमा सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद विकास लगायत समुदायका आवश्यकता अनुसार कुन क्षेत्रमा खर्च गर्ने भन्ने विषयमा छलफल समेत गरिएको थियो । क्लबले हतारमा निर्णय नगरी उपस्थित सबैको राय, सल्लाह तथा सुझावका आधारमा रकमको सदुपयोग गर्ने जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा सदस्य गोरीमाया बिसुन्केले संकलित रकमको सही र पारदर्शी सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले आफू पदमा रहे पनि नरहे पनि क्लबलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रम समापन गर्दै क्लबका अध्यक्ष दानियोल बयलकोटीले संकलित रकम समुदायलाई अति आवश्यक पर्ने सामग्री खरिद तथा महत्वपूर्ण सामाजिक काममा खर्च गरिने बताउनुभयो । उहाँले रकमको सही सदुपयोग गर्न सबैको सल्लाह र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा देउसी-भैलो अभियानमा सबैभन्दा बढी आर्थिक सहयोग गर्ने सहयोगदाताहरूलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम देउराली युवा क्लबका अध्यक्ष दानियोल बयलकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लबका सचिव गंगा बिसुन्केले सञ्चालन गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *