दशैँपछि सुनसान बनेको सिन्धुलीमाढी बजारमा तिहारसँगै बढ्यो चहलपहल
सिन्धुली/तिहार सुरु भएसँगै सिन्धुलीमाढी बजारमा चहलपहल बढेको छ ।
बजारमा चहलपहल भने आजभन्दा करिब तीन-चार दिन अघिदेखि नै बढ्न थालेको थियो ।दशैँपछि केही दिन सुनसान बनेको बजार तिहार नजिकिएसँगै पुनः चलायमान बनेको हो ।

यतिबेला सिन्धुलीमाढी बजारको भेटनरी आसपास, एक नम्बर बजार, गैरीबजार, हाट जाने क्षेत्रदेखि शनिबार लाग्ने हाटबजारसम्मका पसल तथा सडकमा तिहारका सामग्री बिक्रीका लागि सजाइएका छन् ।

बजारका पसलहरूमा झिलिमिली बत्ती, फूलमाला, माटाका दियो, मिठाई, भाइमसला, टीका तथा पूजाका सामग्रीले यतिबेला बजार रंगीन बनेको छ । बिहानैदेखि किनमेलका लागि बजार पुग्ने उपभोक्ताको भीडले बजार क्षेत्र थप व्यस्त बनेको छ । विशेषगरी भाइटीकाका लागि टीका तथा भाइमसला खरिद गर्ने र घर सजावटका लागि फूलमाला तथा झिलिमिली बत्ती किन्नेहरूको पनि यतिबेला निकै चाप देखिन्छ ।

तिहार नजिकिएसँगै फुटपाथमा व्यापार गर्ने साना व्यवसायीहरूलाई समेत भ्याइनभ्याइ भएको छ । सडक किनारमा तिहारका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । ग्राहकको चहलपहल बढेसँगै फुटपाथका व्यापारीहरू पनि व्यापारमा व्यस्त देखिन्छन् ।
त्यस्तै तिहार मनाउन जिल्ला बाहिर रहेका आफन्त तथा परिवारका सदस्यहरू घर फर्किने क्रम बढेको छ । माइती तथा मावली जानेहरूको आवतजावतले पनि बजारमा थप भीडभाड थपिएको छ । बसपार्कदेखि बजारका मुख्य सडक र फुटपाथसम्ममा पनि सर्वसाधारणको बाक्लो उपस्थिति देखिन्छ ।

दशैँपछि केही समय सुस्ताएको सिन्धुलीमाढी बजारमा तिहारको आगमनसँगै व्यापारिक गतिविधि बढेको छ । तीन -चार दिनअघिदेखि सुरु भएको किनमेलको चहलपहल तिहार सुरु भएसँगै अझ बढेको छ । तिहारका सामग्रीले सजिएको बजार र किनमेलमा व्यस्त सर्वसाधारणले सिन्धुलीमाढीलाई चाडपर्वमय बनाएको देख्न सकिन्छ ।



