कफी खेतीमा भविष्य खोज्दै हरिहरपुरगढीका किसान

 


केही वर्षअघिसम्म खेतमा कोदो र मकै लगाएर आफ्ना गुजारा चलाउने बबी मायाको जीवन सही योजना र मेहनतका कारण एकाएक परिवर्तन भएको छ ।

सिन्धुली/हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ जितपुर बडारेकी बबी माया घिसिङ अहिले व्यावसायिक कफी खेतीमार्फत गाउँमै आयआर्जनको बलियो स्रोत निर्माण गर्न सफल भएकी छिन् । केही वर्षअघिसम्म खेतमा कोदो र मकै लगाएर आफ्ना गुजारा चलाउने बबी मायाको जीवन सही योजना, मेहनत र उचित प्राविधिक सहयोगका कारण एकाएक परिवर्तन भएको छ ।

कुनैसमय खेतबारीमा लगाइएका बालीले परिवारको गुजारा त चल्थ्यो, तर आर्थिक अवस्था परिवर्तन गर्ने आधार बन्न सकेका थिएनन् । समय बदलियो, कोरोना महामारी आयो । धेरैका लागि महामारी संकट बन्यो, तर बबी मायाले त्यसै संकटभित्र नयाँ सम्भावनाको बाटो देखिन् – कफी खेती । ६ सदस्य भएको बबी मायाको परिवारको आयआर्जनको मुख्य स्रोत कृषि नै हो । यही कृषिलाई आधुनिक र व्यवसायमुखी बनाउने सोचका साथ बबी मायाले कफी खेती रोजिन् ।

भविष्यमा राम्रो आम्दानी दिन सक्ने सम्भावना देखेर कफी खेती सुरु गर्ने निर्णय गरेकी उनले सुरुआती चरणमा लगभग पाँच देखि छ कठ्ठा जग्गामा १ सय ३० वटा कफीका बिरुवाहरु रोपिन् । ती बिरुवाहरु मध्ये वातावरणीय तथा प्राविधिक कारणले ४० वटा बिरुवा नष्ट भएता पनि बाँकी बिरुवाको उचित व्यवस्थापन र नियमित हेरचाहका कारण अहिले उत्पादन सन्तोषजनक हुँदै गएको छ ।

एक पटक राम्रोसँग हुर्किएको कफीको बोटले करिब ९ देखि १० वर्षसम्म नियमित उत्पादन दिने भएकाले यसलाई स्थायी आयआर्जनको माध्यमका रूपमा हेरिएको छ । यसर्थ व्यावसायिक कफी खेती विस्तारका लागि हरिहरपुरगढी गाउँपालिकाले पनि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषि विकास कार्यालय सिन्धुलीको सहयोगमा आर्थिक वर्ष २०८३/२०८४ मा हरिहरपुरगढीको वडा नम्बर ५ को सिमरास र सेषाह क्षेत्रमा ४ हजार ३ सय कफीका बिरुवा रोप्ने योजना छ ।

“कोरोनाको समयमा कफी खेती सुरु गरेका थियौं । सुरुमा केही बिरुवा मरे, त्यसबेला अलि निराश पनि लाग्यो । तर बाँकी बिरुवाको राम्रोसँग हेरचाह गर्यौं ।“ उनी खुशी हुँदै भन्छिन्, “अहिले उत्पादन बढ्दै गएको छ । गत वर्ष करिब ५० हजार रुपैयाँ आम्दानी भयो भने यस वर्ष झण्डै एक लाख रुपैयाँ पुगेको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।” कफी खेतीबाट आम्दानी बढेसँगै उनको परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको त छ नै उत्पादनसँगै बजारको पहुँच पनि विस्तार हुँदै गएको छ । यही उत्साहका कारण यस वर्ष कृषि विकास कार्यालय सिन्धुलीको सहयोग तथा हरिहरपुरगढी गाउँपालिकाको सहजीकरणमा उनले थप ४ सय वटा कफीका बिरुवा रोपेकी छिन् ।

कफीको बोट एउटा यस्तो बोट हो जसले दीर्घकालीन उत्पादनको क्षमता बोक्दछ । एक पटक राम्रोसँग हुर्किएको कफीको बोटले करिब ९ देखि १० वर्षसम्म नियमित उत्पादन दिने भएकाले यसलाई स्थायी आयआर्जनको माध्यमका रूपमा हेरिएको छ । यसर्थ व्यावसायिक कफी खेती विस्तारका लागि हरिहरपुरगढी गाउँपालिकाले पनि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषि विकास कार्यालय सिन्धुलीको सहयोगमा आर्थिक वर्ष २०८३/२०८४ मा हरिहरपुरगढीको वडा नम्बर ५ को सिमरास र सेषाह क्षेत्रमा ४ हजार ३ सय कफीका बिरुवा रोप्ने योजना छ । त्यसैगरी वडा नम्बर १ मा ३० हजार ५ सय कफीका बिरुवा रोपेर कफी क्षेत्र विस्तार गरिने हरिहरपुगढी गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले बताउनुभयो ।

“हरिहरपुरगढी गाउँपालिकाको हावापानी र भौगोलिक अवस्था व्यावसायिक कफी खेतीका लागि निकै उपयुक्त रहेको छ । यही सम्भावनालाई व्यावसायिक रूपमा विकास गर्ने उद्देश्यले कृषि विकास कार्यालय सिन्धुलीसँगको साझेदारीमा आर्थिक वर्ष २०८३/८४ मा कफी क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्दैछौं । वडा नम्बर ५ को सिमरास र सेषाह क्षेत्रमा ४ हजार ३ सय तथा वडा नम्बर १ मा ३० हजार ५ सय कफीका बिरुवा रोप्ने योजना रहेको छ” उनले भने, “यस कार्यक्रममार्फत किसानलाई गुणस्तरीय बिरुवा, आवश्यक प्राविधिक सहयोग र नियमित अनुगमन उपलब्ध गराइनेछ । आगामी दिनमा हरिहरपुरगढीलाई गुणस्तरीय कफी उत्पादनको प्रमुख क्षेत्रका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो । यसले किसानको आय वृद्धि, स्थानीय रोजगारी सिर्जना र कृषि व्यवसायीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं ।”

परम्परागत खेतीबाट आधुनिक तथा व्यवसायमुखी कृषि प्रणालीतर्फ पालिकाका कृषकहरुको यात्रा तय हुँदै गइरहेको छ । केही वर्षअघिसम्म कोदो र मकैले मात्रै परिवारको गुजारा चलाउने बबी माया जस्ता थुप्रै किसानहरुको जीवनमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ । जसले किसानहरुलाई गाउँकै माटोमा भविष्य सुनिश्चित हुने कुरामा आशावादी बनाएको छ भने पालिकालाई थप समृद्धिको बाटोमा कार्य गर्न सहयोग पुग्ने आसा जगाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *