सिन्धुलीमा फूलखेतीबाट वार्षिक आठ लाखसम्म नाफा, तिहारमा भारतबाट फूल ल्याउन नपर्ने अनुमान

सिन्धुली/सिन्धुलीमा व्यावसायिक फूलखेती किसानको आम्दानीको राम्रो स्रोत बन्दै गएको छ ।

जिल्लाका किसानले पाँचदेखि २० रोपनीसम्म जग्गामा सयपत्री र मखमली फूलखेती गरेर वार्षिक चारदेखि आठ लाख रुपैयाँसम्म नाफा कमाउँदै आएका छन् । व्यावसायिक उत्पादनसँगै घरघरमा समेत फूल रोप्ने क्रम बढेपछि यस वर्ष तिहारमा भारतबाट फूल ल्याउन नपर्ने अनुमान गरिएको छ ।

सुनकोशी गाउँपालिका ५ काल्लेस्थित महाकालीदेवी बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक उमेश दर्नालले २० रोपनी जग्गामा फूलखेती गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक फूलखेतीमा संलग्न उहाँले माला बिक्रीबाट वार्षिक आठ लाख रुपैयाँसम्म नाफा कमाउँदै आउनुभएको छ । उहाँले एउटा माला ५० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्नुहुन्छ। तिहारमा मात्रै नभई वर्षभरि नै फूल उत्पादन तथा बिक्री गर्दै आउनुभएको छ ।

फूलखेतीबाट राम्रो आम्दानी हुने भए पनि मौसम प्रतिकूल हुँदा उत्पादनमा क्षति पुग्ने जोखिम रहेको दर्नालले बताउनुभयो । पानी जम्दा फूल कुहिने समस्या हुने भएकाले पानीको उचित निकास र बिरुवाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँको अनुभव छ ।


त्यस्तै फिक्कल गाउँपालिका २ पोखरीका किसान पीताम्बर बरालले पाँच रोपनी जग्गामा व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । उहाँले फूलको कारोबारबाट सबै खर्च कटाएर वार्षिक चारदेखि छ लाख रुपैयाँसम्म नाफा कमाउँदै आउनुभएको छ । बरालले वर्षभरि फूल उत्पादन गर्नुका साथै सिन्धुली बाहिरका जिल्लामा समेत फूल बिक्री गर्दै आउनुभएको छ ।

यस वर्ष तिहारलाई लक्षित गरी जिल्लाका व्यावसायिक किसानसँगै सर्वसाधारणले पनि सयपत्री र मखमली फूल रोपेका छन् । दाजुभाइका लागि माला तयार गर्न, घरआँगन सजाउन तथा पूजाआजामा प्रयोग गरीने भएकोले सर्वसाधारणले फूल रोपेका हुन् ।

कृषि विकास कार्यालय सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठका अनुसार यस वर्ष स्थानीय उत्पादनले तिहारको माग धान्न सक्ने अपेक्षा गरिएको छ । व्यावसायिक किसानसँगै सर्वसाधारणले समेत फूल रोपेकाले भारतबाट फूल ल्याउन नपर्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

सिन्धुलीमा करिब सात देखि १० वटासम्म नर्सरी सञ्चालनमा रहेको बताइएको छ । तिहार नजिकिँदै गर्दा सयपत्री र मखमली फूलका बिरुवाको बिक्रीसमेत बढेको नर्सरी सञ्चालकहरु बताउछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *