दशैँ सकिएसँगै धान काट्न व्यस्त किसान, मौसमको चिन्ताले पिरोल्दै
सिन्धुली/दशैँ सकिएसँगै सिन्धुलीका किसानलाई यतिबेला धान काट्ने र भित्र्याउने चटारो छ ।
खेतमा पहेँलपुर भएर झुलेका धानका बाला काट्न किसानहरू बिहानैदेखि खेतबारीमा व्यस्त छन् । कसैले धान काटिरहेका छन् त कसैले काटेको धान सुकाउने र मुठा पार्ने काम गरिरहेका छन् ।
वर्षभरि मेहनत गरेर फलाएको बाली घरमा भित्र्याउने समय आएसँगै किसानलाई यतिबेला भ्याइनभ्याइ भएको छ । तर खेतमा पाकेको धान देख्दा किसानको मनमा जति खुसी छ,त्यति नै चिन्ता पनि छ । यस वर्ष पनि पानी र हावाहुरीले धानबालीमा क्षति पु¥याउने हो कि भन्ने त्रासले उनीहरूलाई सताएको छ । गत वर्ष पानी र हावाहुरीका कारण धानबालीमा निकै क्षति बेहोर्नुपरेको अनुभव किसानले अझै बिर्सन सकेका छैनन् । त्यसैले यस वर्ष मेहनत अनुसार धान उत्पादन भए पनि सुरक्षित रूपमा भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता उनीहरूमा छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ का किसान सान्ता रम्तेलले यस वर्ष मेहनत गरेअनुसार धान उत्पादन भएको बताउनुभयो । तर उत्पादन राम्रो भए पनि मौसमका कारण बाली सुरक्षित रूपमा भित्र्याउन पाइने हो कि होइन भन्ने चिन्ता रहेको उहाँको भनाइ छ ।
“हामीले मेहनत गरेअनुसार धान फलेको छ तर धान राम्रोसँग भित्र्याउन पाइन्छ कि पाइँदैन त्यही पीर छ । गत वर्ष निकै क्षति भयो,” रम्तेलले भन्नुभयो । रम्तेलले १५ कठ्ठा जग्गामा धान रोप्नुभएको छ । किसानका लागि बाली लगाउनु जति महत्त्वपूर्ण छ, त्यसलाई सुरक्षित रूपमा भित्र्याउनु पनि उत्तिकै चुनौतीपूर्ण बनेको छ ।
सोही गाउँका अर्का किसान शम्भु आछामे पनि मौसमकै चिन्तामा हुनुहुन्छ । गत वर्ष पानी र हावाहुरीका कारण ठूलो नोक्सानी बेहोर्नुपरेपछि उहाँले यस वर्ष मौसम सम्बन्धी समाचार र पूर्वानुमानमा विशेष ध्यान दिन थाल्नुभएको छ ।“रेडियो र टिभी हेरेर मौसमबारे समाचार सुनिरहेको छु पोहोर धेरै नोक्सान सहनुप¥यो । यस वर्ष त्यस्तो हुँदैन कि भन्ने आशा छ,” आछामेले भन्नुभयो ।
आछामेले २० कठ्ठा जग्गामा धान रोप्नुभएको छ । उहाँका लागि अहिले धान काट्ने र सुरक्षित रूपमा घरमा भित्र्याउने समय हो तर मौसममा आउने परिवर्तनले पाकेको धानमा क्षति पु¥याउने हो कि भन्ने चिन्ता भने हटेको छैन। त्यसैले उहाँ मौसम सम्बन्धी सूचना सुन्दै बाली भित्र्याउने काममा जुटिरहनुभएको छ ।

धान काट्ने समयमा पानी परे काटेर खेतमा राखिएको धान भिज्ने, सुकाउन राखिएको धानमा क्षति पुग्ने र हावाहुरीले पाकेको धान ढलाउने जोखिम हुन्छ । धान ढलेपछि काट्न कठिन हुने र दाना झर्ने समस्या पनि आउन सक्छ । यसले उत्पादन र किसानको आम्दानीमा समेत असर पार्न सक्छ ।
किसानका लागि धान केवल अन्न मात्र होइन, वर्षभरि परिवारको गुजारा चलाउने बलियो आधार पनि हो । बीउ, मल, श्रम र अन्य कृषि सामग्रीमा लगानी गरेर उत्पादन गरेको बाली भित्र्याउने बेलामा क्षति हुँदा त्यसको असर घरपरिवारको आर्थिक अवस्थासम्म पुग्छ । गत वर्षको क्षतिको अनुभवले यस वर्ष किसानलाई थप सतर्क बनाएको छ ।
अहिले सिन्धुलीका किसानहरू धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् ।उनीहरू मौसम सम्बन्धी समाचार सुन्दै र आकाशको अवस्था नियाल्दै बाली सुरक्षित राख्ने प्रयासमा छन् । मौसमले साथ दिए समयमै धान भित्र्याउन सकिने आशा उनीहरु रहेको बताउछन् ।



