पाक्नुअघि नै बजारमा हरियो जुनार, बजार नपाउने चिन्ताले किसान बिक्री गर्न बाध्य

सिन्धुली/सिन्धुलीमाढीको तरकारी तथा फलफूल बजारमा यतिबेला हरियो जुनार र सुन्तला बिक्रीका लागि राखिएको छ ।

जुनार पूर्ण रूपमा खानयोग्य हुने समय नजिकिँदै गर्दा बजारमा हरियो जुनार बिक्री हुन थालेपछि किसानको बाध्यता र बजार व्यवस्थापनको अवस्थाबारे अहिले प्रश्न उठेको छ ।

सिन्धुलीमाढी आसपासका बजारमा हाल जुनार प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्म र सुन्तला प्रतिकिलो १७० देखि १९० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

सिन्धुली खबरलाई जानकारी दिँदै १० वर्षदेखि जुनार र सुन्तला खेती गर्दै आउनुभएकी किसान निर्मला रोक्काले जुनार कार्तिकको अन्तिम सातादेखि खानयोग्य हुने बताउनुभयो । उहाँका अनुसार जुनार पूर्ण रूपमा पाक्ने समय आउनुअघि नै बजारमा बिक्रीका लागि राखिएको छ । किसानले उत्पादन गरेको फल भण्डारण गरेर राख्ने पर्याप्त सुविधा नहुँदा अहिलेनै बिक्री गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

सोही गाउँकी अर्का किसान सीता रम्तेलका अनुसार कार्तिकको अन्तिम सातादेखि जुनार र सुन्तला खानयोग्य हुने भए पनि त्यतिबेला बजार पाउन निकै कठिन हुने गरेको छ । बजार अभाबको कारण आफूहरू अहिले नै जुनार बेच्न बाध्य भएको उहाँले बताउनुभयो ।

जुनार किसानले समय अगावै उत्पादन बिक्री गर्नुपर्ने प्रमुख कारण मध्ये आर्थिक अभाव, बिचौलियाको दबाब, भण्डारण सुविधाको कमी र कमजोर बजार व्यवस्थापन पनि हो । सिन्धुली लगायत अन्य जुनार उत्पादन हुने क्षेत्रमा पनि किसानहरुले यस्ता समस्या भोग्दै आएको देख्न सकिन्छ ।

उत्पादनको उचित मूल्य पाउन नसक्दा किसानको आम्दानीमा असर पर्ने गरेको छ भने फल टिप्ने उपयुक्त समय, बजारको माग र भण्डारणको सुविधाबीच तालमेल नहुँदा किसानले थप चुनौती सामना गर्नुपरेको किसानहरु बताउछन् ।

किसानका समस्या समाधान गर्न सहुलियत ऋण उपलब्ध गराउने, शीतभण्डार निर्माण गर्ने, सहकारीमार्फत सामूहिक बिक्री प्रणाली विकास गर्ने तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था आवश्यक देखिन्छ ।

जुनार सिन्धुलीको प्रमुख कृषि उत्पादनमध्ये एक हो । यस खेतीमा संलग्न किसानलाई समयमै बजार, भण्डारण सुविधा र उचित मूल्य उपलब्ध गराउन सके किसानको आम्दानी बढाउनुका साथै जुनार खेतीलाई थप व्यावसायिक बनाउन सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *