सिन्धुलीका निरुपम नवआधुनिक गीतकारबाट सम्मानित
सिन्धुली/युवा कवि तथा गीतकार निरुपम श्रेष्ठ सर्वाेत्कृष्ट नवआधुनिक गीतकारबाट सम्मानित हुनुभएको छ ।
छैठौँ हिमालयन इन्टरनेसनल अवार्ड–२०२६ अन्तर्गत श्रेष्ठ उक्त पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । गएको वैशाखमा मात्र सार्वजनिक भएको श्रेष्ठको गीत ‘खोज्दा नी आफूलाई भेटाउन सकिन’ बाट श्रेष्ठले यो पुरस्कार हातपार्न सफल हुनुभएको छ ।
सिक्किमको राभाङ्लास्थित कम्युनिटी हलमा आयोजित एक भव्य समारोहमा वहाँलाई पुरस्कार प्रदान गरिएको छ । नेपाली साहित्यको क्षेत्रमा क्रियाशिल रहेर गीत लेखनमा पु¥याउनुभएको योगदानको कदरस्वरूप वहाँलाई यस वर्षको सर्वोत्कृष्ट नवआधुनिक गीतकारको पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका स्थायी घर भएका गीतकार श्रेष्ठको शव्द रहेको गीतमा राजु सिंहको संगित तथा सुमधुर स्वरका धनी रामकृष्ण ढकालको स्वर रहेको छ । मानिसको जीवन संघर्ष, भोगाइ र कठोर यथार्थतालाई गीतकारले आफ्ना शव्दहरुमा समेट्नुभएको छ । त्यतिमात्र हैन जीवन भोगाइका क्रममा देखिने आशा र निराशाबीचको पौँठाजोरीलाई समेत गीतकारले मार्मिक रूपमा प्रस्तुत गर्नुभएको छ ।निरन्तर संघर्षका बीच पनि जीवनमा केही प्राप्त गर्ने आशाको झिल्को देख्न सकिन्छ भन्ने भाव गीतमा पाउन सकिन्छ ।
श्रेष्ठले यसअघि ‘जीवन’, ‘तिम्रो मीठो मुस्कान’, ‘तमासाको खेल’ र ‘माया कहिल्यै मर्दैन’ जस्ता लोकप्रिय गीतहरू नेपाली गीत संगितको लहरमा मिसाइसक्नुभएको छ । निरन्तरको प्रयास, लेखन र परिश्रमको कदर भएको बताउँदै गीतकार श्रेष्ठले भन्नुभयो ‘यो सम्मानले नेपाली साहित्यको क्षेत्रमा थप योगदान दिन उर्जा मिलेको छ । लेखनको यात्रा निरन्तर चलिरहनेछ ।’


