साहित्यिक साइनो जोड्दै मरिण साहित्य समाज, ११ सर्जक एउटै मञ्चमा
सिन्धुली/सिन्धुलीलाई साहित्यभूमि भनेर चिनिन्छ । यहाँको माटोले निकै ख्यातिप्राप्त र अव्वल अग्रज साहित्यकारहरुलाई जन्माएको छ ।
यही ख्यातीलाई जोगाउँदै साहित्यिक व्यक्तित्वहरुलाई आपसमा जोड्न मरिण साहित्य समाजले कविता लेखन कार्यशाला तथा कविता, गजल र मुक्तक वाचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा खासगरि सिन्धुली तथा सिन्धुली बाहिरका गरि ११ जना सर्जकहरुले रचना वाचन गर्नेछन् ।
मरिण साहित्य समाजको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रम यही असोज २६ गते सोमबार मरिण गाउँपालिकामा हुनेछ । सिन्धुलीमा पछिल्लो समय साहित्यिक गतिविधि तथा कार्यक्रमहरू कम हुँदै गएको अवस्थामा मरिण गाउँपालिकामा साहित्यकारहरूको जमघट हुन लागेको हो । कार्यक्रममा कविता लेखन सम्बन्धी कार्यशाला साथै कविता, गजल तथा मुक्तक वाचन लगायतका साहित्यिक गतिविधि सञ्चालन हुनेछन् ।
मरिण क्षेत्रमा साहित्यिक गतिविधिको विकास गर्ने, नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ आकर्षित गर्ने तथा स्थानीय साहित्यकारबीच सिर्जना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मरिण साहित्य समाजले जनाएको छ । साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउने, स्थानीय साहित्यकारलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने तथा नयाँ पुस्तालाई साहित्य लेखनतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा विभिन्न पुस्ताका साहित्यकार तथा कविहरूको सहभागिता रहनेछ । सहभागी स्रष्टाहरूले आफ्नासाहित्यिक िसर्जना वाचन गर्नुका साथै साहित्यका विविध विषयमा विचार तथा अनुभव आदानप्रदान गर्नेछन् । मरिण क्षेत्रमा साहित्यिक वातावरण निर्माण गर्दै नियमित साहित्यिक गतिविधिलाई निरन्तरता दिने, स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने तथा नवोदित स्रष्टालाई सिर्जनात्मक यात्रामा अघि बढ्न प्रेरित गर्ने कार्यक्रमको थप उद्देश्य रहेको आयोजकले जनाएको छ ।
मरिण साहित्य समाजले यस्ता कार्यक्रममार्फत स्थानीय तहमा साहित्यिक गतिविधिलाई संस्थागत गर्दै नयाँ पुस्ता र अग्रज पुस्ताबीच सिर्जनात्मक संवादको वातावरण निर्माण गर्न खोजेको छ । कार्यक्रमले मरिण क्षेत्रमा साहित्यप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय साहित्यिक पहिचानलाई थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साहित्यकारहरु अभय श्रेष्ठ, स्वप्निल स्मृति, गणेश श्रमण, डि।बी। बर्तौला, किरण पौडेल, अमला अधिकारी, ध्रुवचन्द्र खड्का, लोकेन्द्र डहरे, मैयाँ लामिछाने, अमृत भीमानेली र खडानन्द तिमल्सिनाले कार्यक्रममा आफ्ना रचना वाचन गर्नेछन् । साहित्यप्रेमी, लेखक, कवि, गजलकार तथा शुभेच्छुक सवैलाई सहभागी हुन आयोजक मरिण साहित्य समाजले आग्रह गरेको छ ।


