• चैत्र २०, सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी प्रजिना बम्जनले केहि समय अगाडि वैदेशिक रोगजारीमा जानको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट राहदानी लिनुभयो । तर एकाएक वहाँको मन बद्लियो र अहिले प्रजीना (कान्छीमाया बम्जन ) अटो चलाएरै स्वरोजगार बन्नुभएको छ ।

    परिवारले प्रजिनाको विहे १५ बर्षमै गरिदिएका थिए । हेटौँडा विहे भएपछि प्रजिनाले एसएलसीमै पढाई छोड्नुपर्यो । १६ बर्षको उमेरमा आमा बन्नुभयो । नेपाली सेनाको जागिर छोडेर प्रजिनाको श्रीमानले डबल क्याब बोलेरो किनेर सिन्धुलीमै चलाउनु सुरु गरेपनि खासै राम्रो कमाई भने भएन ।

    वैदेशिक रोजगारीको लागि श्रीमान् मलेसिया जानुभयो । कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित धुराबजारमा डेरा लिएर बसिरहनुभएकी प्रजीनाले अटो किन्ने सोच बनाउनु भयो । वहाँको त्यो सोँचले अहिले राम्रै उपलव्धि भैरहेको छ । २५ बर्षीय बम्जनले ४ बर्षदेखि अटो चलाएरै घरखर्च र अटोको किस्ता तिर्नुभएको छ ।

    “छोरालाई बिहान स्कूल पु¥याएर दिउँसोको समयमा बजारमा अटो चलाउँछु भन्ने श्रीमान्लाई प्रस्ताव गरें । सुरुमा त अन्कनाउनु भयो । पछि हुन्छ चलाउन त भन्नुभयो” प्रजीनाले सुनाउनुभयो । वहाँले सुरुमा पूरानै अटो सिकेर चलाउनुभएको हो । त्यसवेला महिलाले चलाएको अटो भन्दै यात्रुहरुले खासै विश्वास गरेनन् । महिलाले नी अटो चलाउँछन् भनेर विश्वास दिलाउँन केहि समय लागेको वहाँको भनाई छ । पुरुषले चलाएको उहि अटो चढ्न यात्रुलाई कुनै शंका नहुने तर त्यहि अटो महिलाले चलाउँदा विश्वास दिलाउँन समय लागेकोप्रति वहाँको गुनासो छ ।

    प्रजिना बम्जन

    विदेशमा नेपालीहरूले भोगिरहेको अपमानित जीवनबारे आफन्त र साथीहरुले भोगेको भोगाईले उहाँलाई हिम्मत हार्दिन भन्ने साहस थियो । जबसम्म नाडीमा रगत र शरीरमा बल हुन्छ तबसम्म मालिकहरूले हाइहाइ गर्छन् भनेर सुनाउथे साथीहरुले प्रजिनालाई । अर्काको देशमा मर्दा कुकुर बिरालो मरेजस्तै हुन्छ नेपालीको हालत भनेर साथीहरुले आफ्नो भोगाई सुनाइरहँदा प्रजिनालाई भने नेपालमै केहि गर्नुपर्छ भन्ने सोँच आइरहन्थ्यो ।

    सोहि अनुरुप वहाँले अटो चलाउन सुरु गर्नुभयो । सुरुसुरुमा केहि गार्हो भएपनि अहिले सहज भएको वहाँको भनाई छ । अहिले दिनमा १ हजार देखि २५०० रुपैयाँ सम्म आम्दानी हुनेगरेको प्रजिना बताउनुहुन्छ ।

    प्रजिनाले अहिले नयाँ अटो किन्नुभएको छ । ६ लाख ३५ हजारमा किस्तामा अटो लिएर चलाइरहनुभएको छ । दिनभरि अटो चलाएर साँझ घरधन्दा भ्याउनुहुन्छ । परिवारलाई समय दिनुहुन्छ ।
    पैसा नभएर व्यवसाय गर्न पाइएन, सानो काम गर्न लाज लाग्छ, महिलाले सवारी चलाउन सक्दैनन् भन्ने लगायतका बहाना गर्नेहरुका लागि प्रजिना एउटा सफलताको कडि बन्नुभएको छ । काम सानो ठूलो हुँदैन, लगानी नहुँदा पनि इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने कुराको गतिलो प्रमाण प्रजिना पनि हो । जोखिम बहन गरेर इमान्दारिताका साथ कर्म गरे सफल हुन सकिने वहाँको अनुभवले सिद्ध गरेको छ ।
    “मैले कमाएको पैसाले छोरो पढाउन, घर खर्च र अटोको किस्ता तिर्न पुगिहाल्छ । श्रीमान्ले पठाउनु भएको पैसा बचत हुन्छ” उहाँले खुसी सुनाउँनुभयो । कमलामाई नगरपालिकाले अटोचालक प्रजिनालाई अन्तर्राष्ट्रिय महिला दिवसको दिन सम्मान समेत गरेको थियो । यस्ता गतिबिधिले काममा झनै उर्जा मिल्ने प्रजिनाको अनुभव छ ।

    अटोबाट राम्रो आम्दानी भएको देखेपछि अहिले छिमेकी महिला पनि अटो चलाउन थालेको प्रजिनाले बताउनु भयो । ‘मैले अटो तालिम लिने बेलामा छोरी मान्छेले पनि अटो चलाउने भन्ने दिदीबहिनी नै अहिले अटो चलाएर आम्दानी गर्न पाए हुन्थ्यो भनेर सोध्नुहुन्छ’, उहाँले भन्नुभयो । कतिपयले त अटो किनेर चलाउन सुरु गरिसकेको देख्दा आफूलाई निकै खुसी लागेको प्रजिनाले सुनाउनुभयो ।
    पुरुषको तुलनामा महिला चालकले ट्राफिक नियम पालना गर्ने भएकाले दुर्घटना पनि कम हुने गरेको पाइएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख यज्ञ पालले बताउनु भयो । महिला चालकले तीव्र गतिमा नचलाउने र दुर्घटना हुने सम्भावना कम हुने पालको भनाई छ ।