सिन्धुलीमा ट्राफिक नियम उल्लङ्घन घट्दा राजस्व पनि घट्यो

सिन्धुली/जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा ९९ लाख ४६ हजार ५ सय १६ रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख बालकृष्ण प्रधानको अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार ९ सय ४१ वटा सवारी साधन कारबाहीमा पर्दा उक्त राजस्व संकलन भएको हो ।

गत आर्थिक वर्ष २०८१/८२ मा जिल्ला ट्राफिक कार्यालयले १ करोड १९ लाख ९९ हजार १७ रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसको तुलनामा यस वर्ष करिब २० लाख रुपैयाँले राजस्व घटेको देखिएको छ ।

कार्यालय प्रमुख प्रधानको अनुसार प्रविधिको प्रयोग बढ्दै जानु, चालक तथा सवारीधनीमा ट्राफिक सचेतना बढ्नु र नियम उल्लङ्घनमा कमी आएकोले गर्दा राजस्व संकलन घटेको हो ।उहाँको अनुसार नियम उल्लङ्घन कम भएकाले सडक दुर्घटनाकोसंख्या पनि दिन प्रतिदिन घट्दै गएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनमा ८ लाख ५८ हजार ५ सय १ रुपैयाँ, भदौमा ६ लाख ४० हजार, असोजमा ५ लाख ३७ हजार १ रुपैयाँ, कार्तिकमा ५ लाख ३१ हजार र मंसिरमा ६ लाख ४२ हजार १ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै पुसमा ७ लाख ५१ हजार ५ सय १ रुपैयाँ, माघमा ७ लाख ३८ हजार, फागुनमा ७ लाख ३३ हजार, चैतमा ९ लाख ६३ हजार ५ सय, वैशाखमा १० लाख ३५ हजार ११ रुपैयाँ, जेठमा १२ लाख ६१ हजार २ रुपैयाँ र असारमा १२ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जाकारी दिएको छ ।

माथीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै राजस्व जेठ महिनामा १२ लाख ६१ हजार २ रुपैयाँ संकलन भएको छ भने सबैभन्दा कम कार्तिक महिनामा ५ लाख ३१ हजार रुपैयाँ संकलन भएको छ ।

कार्यालयको अनुसार कारबाहीमा पर्ने सवारी साधनमध्ये सबैभन्दा धेरै जिप, कार र भ्यान रहेका छन् । यी सवारी साधनबाट नै सबैभन्दा बढी राजस्व संकलन हुने गरेको कार्यालय प्रमुख बालकृष्ण प्रधानले सिन्धुली खबरलाई जानकारी दिनुभयो । त्यसैगरी कारबाहीमा पर्ने सवारीमध्ये अटोको संख्या सबैभन्दा कम रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कारबाहीमा परेका सवारी धनीले इसेवा वा राष्ट्रिय वाणिज्य बैंकमार्फत जरिवाना बुझाउन सक्ने व्यवस्था रहेको छ । ट्राफिक नियम पहिलो पटक उल्लङ्घन गरेमा ५०० रुपैयाँ, दोस्रो पटक गरेमा १ हजार रुपैयाँ र तेस्रो पटक गरेमा १ हजार ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले ४ हजार भन्दा बढी ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमबाट ३ लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका प्रमुख प्रधानले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।उहाँको अनुसार दिन प्रतिदिन ट्राफिक सचेतना कार्यक्रम, प्रविधिको प्रयोग र चालकको जिम्मेवारीबोधको कारण नियम उल्लङ्घन, राजस्व संकलन र सडक दुर्घटनामा कमी आएको हो ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले २ करोड ६ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । पछिल्ला तीन वर्षको तथ्याङ्कले राजस्व संकलन घट्दै गए पनि यसलाई ट्राफिक अनुशासनमा आएको सुधारको सकारात्मक संकेतका रूपमा हेरिएको प्रमुख प्रधानले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *