मूल्य समायोजन नभएसम्म निर्माणका काम ठप्प पार्ने निर्माण व्यवसायीहरुको अडान

सिन्धुली/उद्योग तथा निर्माण सामाग्रीहरुमा भएको अत्याधिक मूल्य वृद्धिलाई नेपाल सरकारले बेवास्ता गरेको भन्दै सिन्धुलीका निर्माण व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

निर्माण व्यवसायी संघ सिन्धुलीको आयोजनामा बिहिवार कालो व्यानर सहित जिल्ला प्रशासन कार्यालयको अगाडि निर्माण व्यवसायीहरुले धर्ना दिएका थिए । संघले विभिन्न माग राख्दै निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

अहिलेको विषम परिस्थितिमा निर्माण व्यवसायीहरुले पूरानै इष्टिमेट तथा दररेटमा काम गर्न नसक्ने र जति काम गरेपनि घाटामै गैरहने भएकाले यस्तो धरासायी अवस्थामा मूल्य समायोजन नभएसम्म निर्माण व्यवसायीहरु कुनै पनि निर्माण कार्यमा सहभागि हुन नसक्ने संघका जिल्ला अध्यक्ष उद्धव प्रसाद दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै निर्माण व्यवसायीहरु चरम आर्थिक तथा मानसिक संकटमा परेका बेला व्यवसायीहरुलाई कालो सूचिमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कार्यहरु नगर्न विज्ञप्ती मार्फत नेपाल सरकारलाई आग्रह गरिएको छ ।

नेपाल सरकारले समयमै मूल्य समायोजनको निर्णय नगरेका कारण निर्माण कार्य ठप्प हुँदा त्यसबाट उत्पन्न हुने सवै परिणामको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने संघका जिल्ला अध्यक्ष उद्धव प्रसाद दाहालको भनाई छ । यस्तो गम्भिर अवस्थामा सन्चालमा रहेका निर्माण आयोजनाहरु पूर्वनिर्धारित समयमै सकिन सम्भावना नभएको भन्दै संघले व्यवसायीहरुको बैंक ग्यारेन्टी, इन्स्युरेन्स तथा थप क्षतिपूर्ति सहित सवै आयोजनाहरुको आवश्यक म्याद थप र बजेट व्यवस्थापनका लागि नेपाल सरकारसंग ज्ञापन पत्र मार्फत अनुरोध गरेको छ ।
जिल्लाका निर्माण व्यवसायीहरुको बाक्लो उपस्थितिमा आयोजना गरिएको धर्ना कार्यक्रममा अन्य व्यवसायीहरु तथा स्थानीयको पनि ऐक्यवद्धता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *