• शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले पछिल्ला केहि वर्षहरुमा प्रसंशनिय कामहरु गरिरहेको यथार्थ हो । नागरिकको सेवासंग प्रत्यक्ष सरोकार राख्ने केहि सरकारी कार्यालय तथा संघसँस्थाहरुमा २४ सै घण्टा पानीको सुविधा प्रदान गरेर होस् या अन्य सेवामुखि कार्य गरेर होस् यस उपभोक्ता संस्थाले नयाँ नेतृत्व आएपछि केहि नयाँ कामहरु गरिरहेको छ । यो संस्था अहिले उपभोक्ताहरुलाई समयमै खानेपानीको सुविधा उपलव्ध गराउने कार्यमा विभिन्न योजनाहरु सहित अहोरात्र खटिरहेको छ । तथापि आवस्यक परेका बेला पानीको उपलव्धता नभएको भन्ने गुनासाहरु अझै रोकिएका छैनन् । प्रस्तुत छ: संस्थाको वर्तमान अवस्था र सन्चालित योजनाहरुका बारेमा संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठसंग सिन्धुली अपडेट साप्ताहिक तथा sindhulikhabar.com का लागि नविन श्रेष्ठले गर्नुभएको कुराकानी ।

    तपाईंले शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको नेतृत्व गर्नु भएको कति भयो ? र तपाईंले नेतृत्व गरेपछि सिन्धुलीमाढीवासीले कस्ता किसिमका सुविधा पाएका छन् ?
    – म दुई कार्यकाल अध्यक्ष भएँ । पहिलेको कार्यकालमा लोकतान्त्रीक विधिबाट निर्वाचित भएर नेतृत्वमा आएँ । चार वर्षको कार्य अवधि सकेर गत वर्ष संस्थाको साधारणसभाले सर्वसहमतिले फेरी पनि संस्थाको नेतृत्व गर्ने जिम्मेवारी दियो । यो संस्थाको नेतृत्व गरेको अहिले छैठौं वर्ष चल्दैछ ।
    म आउनु भन्दा अगाडी यहाँका उपभाक्ताले जुन किसिमको खानेपानीको समस्या भोगिरहनु भएको थियो भन्ने कुरा जगजाहेरै छ । यसबारे मैले धेरै भनिरहनु नपर्ला । कुन दिन पानी आँउछ ? कुन दिन पानी आँउदैन ? हप्तामा कति दिन पानी आँउछ ? विहान आँउछ कि वेलुका आँउछ भनेर पर्खिरहनुपर्ने जुन अवस्था थियो । अहिले त्यो अन्त्य भएको छ । हामी आएपछि धेरै परिवर्तन गरेका छौं त हामी भन्दैनौं तर पनि खानेपानीको क्षेत्रमा धेरै सुधार भएको उपभोक्ताले महसुस गर्नुभएको यथार्थ हो । यो समय पानी आउँछ भन्ने निश्चित गराएका छौं । निश्चित तोकिएको समयमा पानी नआएको घडिमा हाम्रो व्यवस्थापन टिमलाई जानकारी गराउने र प्राविधिकहरुलाई जानकारी गराउने, उपभोक्ताहरुको घर घर सम्म गएर खानेपानी व्यवस्थित गर्नेसम्मका काम हामीले गरिरहेका छौँ । यस प्रति सम्पूर्ण उपभोक्ताको जुन किसिमको हार्दिकता छ, त्यसप्रति हामी एकदमै आभारि छौं ।
    हाल कतिवटा योजनाहरु निर्माणधिन तथा सञ्चालनमा छन् ?
    एडिविसंग नगरविकास कोष मार्फत नेपाल सरकारले ऋण लिएको छ । पूर्व अध्यक्ष डम्बरबहादुर खड्काको पालामा करिब ६ करोडको लागतमा यसको संरचना निर्माण भएको थियो । यस संस्थाको कार्यक्षेत्रमा जनघनत्व वृद्धिदरको आधारमा त्यसलाई सु–व्यवस्थित गर्न रिह्याब प्रोगाम गर्यौँ । त्यो प्रोगाम करिब ९ करोड बराबरको थियो । अहिले दैनिक २८ लाख लिटर खानेपानी वितरण गर्नसक्ने क्षमता छ । हामीसँग विभिन्न स्थानमा गरेर १५ ओटा रिजर्भर ट्याङकीहरु छन् । त्यस ट्याङकी मार्फत खानेपानी वितरण गरिरहेका छौं । अहिले दैनिक २५ हजार जनसंख्यालाई खानेपानी वितरण गरिरहेका छौं । र २८ लाख खानेपानी वितरण गर्छौं । संपोयल सिस्टम र ग्राभिटी सिस्टमबाट खानेपानी वितरण गरिरहेका छौं । अहिले प्रदेश सरकारको सहयोगमा २१ करोडको टेण्डर भएको छ । कमलामाई नगरपालिका ७ को ठूलिटारमा संपोयल बन्ने काम भईरहेको छ । अहिले रिजर्भर ट्याङ्की र पाइप व्यवस्थापनको काम हुँदै छ । यस वर्ष मिलञ्चोकमा ६ करोडको टेण्डर भई सकेको छ तर लकडाउनको कारण काम हुन सकेको छैन । बर्षातको कारणले निर्माण व्यावसायिहरुले काम रोक्नु भएको छ । दशंै पछि बाँकी काम हुन्छ । अहिले संस्थाको आन्तरिक बजेटमा बाढि पहिरो अन्तरगत ६६ लाखको कार्यक्रम सम्पन्न भएको छ । त्यस अन्तरगत र खानेपानी डिभिजन कार्यालयको मर्मत सम्भार तथा सहयोग कार्यक्रम अन्तरगत क.न.पा. ७ माझीडाँडामा ५० लाख लिटरको खानेपानी ट्याङकी निर्माण कार्य सम्पन्न भई सकेको छ । त्यसै गरी कनपा.४ मल्लागाउँ कात्तिकेमा १ लाख लिटरको खानेपानी ट्याङकी निर्माण सम्पन्न भई सकेको छ । त्यसै गरी शिद्धेश्वर खानेपानी संस्थाको कार्यालयको घेरावेराको काम सम्पन्न भई सकेको छ । कात्तिकेमा पालेघर निर्माण सम्पन्न भएको छ । संपोयलको सुरक्षार्थ क.न.पा. ७ को चुहा र गडौंली स्थित पालेघर निर्माण सम्पन्न भएको छ । क.न.पा. ६ को पानीट्याङ्की दमारमा रहेको पुरानो फिल्टर ट्याङकीको मर्मतसम्भार भएको छ । क.न.पा. ६ पानीट्याङकीमा २ लाख लिटर क्षमताको नयाँ ट्याङ्की निर्माण सम्पन्न भएको छ । र त्यहाँ भएको १० कठ्ठा जग्गामा भएको संरचनालाई सुरक्षित गर्न घेराबेराको काम भएको छ । मुहानहरुमा ग्याविन वाल लगाउने काम सम्पन्न भएको छ र गतवर्ष वगाएका पाइपहरु व्यवस्थित ढंगले गाड्ने पुर्ने काम सम्पन्न भएको छ । यस वर्ष हामीले जम्मा १८ ओटा योजनाहरु सम्पन्न ग¥यौं ।

    निमार्ण कार्यमा सहभागि हुदै अध्यक्षा श्रेष्ठ

    एडिविबाट लिएको ऋणको किस्ता भुक्तानीको अवस्था कस्तो छ ?
    नेपाल सरकारले साना सहरी आयोजनाहरु २९ ओटा छनौट गरेको थियो । जस अन्तरगत सिन्धुली पनि थियो । २९ ओटा योजनाहरु मध्य शिद्धेश्वर खानेपानी योजना अन्तिमबाट दोश्रो थियो । हामीले नेतृत्व गर्नु अघि कर्मचारीलाई तलब पनि व्यवस्थापन गर्न सक्ने अवस्थामा थिएन । पहिला भएको एडिविको काममा प्राविधिक समस्याका कारण स्टमेट अनुसारको पानी आएको थिएन । उपभोक्ताले सास्ति भोगिरहनुभएको थियो । हामी यस संस्थाको नेतृत्वमा आएपछि रिह्यावको कार्यक्रम ल्यायौं । जसले गर्दा कर्मचारीलाई तलब व्यवस्थापन गर्न सक्ने वातावरण भयो । संस्था आफैं सञ्चालन हुन सक्ने अवस्थामा आएको छ । हामीले संस्थाको जिम्मेवारी लिएपछि १ करोड २० लाख जति व्याज भुक्तानी गरेका छौं । अहिले फेरी १० लाख व्याज भुक्तानी गर्ने भनेर निर्णय गरेका छौं । अहिले लकडाउनका कारण ४ महिनाको महशुल उठेको छैन । जसको कारण ६० लाख महशुल बक्यौंता छ । यो पैसा उठेपछि निर्णय गरेर व्याज भुक्तानी गर्नेछौं ।
    शिद्धेश्वर खानेपानी संस्थाका उपभोक्ताहरुले २४ सै घण्टा खानेपानीको सुविधा प्राप्त गर्ने सम्भावना कत्तिको छ ?
    यहि कामको लागि हामी चासोका साथ योजना वनाएर लागि रहेका छौं । हाम्रो कार्यकाल २ वर्ष वाँकी छ । म विश्वास र गर्वका साथ भन्नसक्छु, अहिले टेण्डर भएका काम सम्पन्न भएपछि सबै उपभोक्तालाई पर्याप्त पानी पुग्छ । अहिले पनि २५ प्रतिशत उपभोक्ताको धारामा पर्याप्त पानी पुगेको छ । बाँकी ७५ प्रतिशत उपभोक्तालाई पनि पानी पु¥याउँछौं । क.न.पा. ७ ठूलीटार मेघदहको काम सम्पन्न भए पछि त्यसले प्रति सेकेण्ड २० लिटर पानी दिन सक्छ । २४ घण्टा त्यसलाई प्रयोग गर्न सक्छौं । त्यसै गरी मिलनचोकको खानेपानी आयोजना सम्पन्न भए पछि त्यहाँबाट पनि प्रति सेकेण्ड २० लिटर पानी दिन्छ । २४ सै घण्टा खानेपानी उपभोक्तालाई उपलब्ध गराउन हामी लागिरहेकाछौं । यी आयोजनाहरु सम्पन्न भएपछि सिन्धुलीमाढीमा पानी पर्याप्त हुन्छ । अहिले निर्माण कार्य भईरहेका योजनाहरु सम्पन्न भएपछि कोही उपभोक्ताले गुनसो गर्ने ठाउँ रहने छैन । हिजोको भन्दा ८० प्रतिशत समस्या समाधान भई सकेको छ र बाँकी २० प्रतिशत समस्या पनि चाँडै अन्त्य हुने छ । अहिले गुनासाहरुको संख्या कम हुँदै गएको छ । हामीले सञ्चारमाध्यमबाट नै सूचना गरेका छौं, ‘खानेपानीको समस्या हुना साथ हामीले उपलव्ध गराएका व्यक्ति र नम्वरमा सम्पर्क गर्नुहोला भनेर । हामी छिटै सिन्धुलीमाढीका उपभोक्तालाई खानेपानीमा कुनै समस्या छैन भन्ने वातावरण बनाउँछौँ । यथासक्य चाँडै माडिबजारमा खानेपानीको समस्या शुन्यमा झार्ने प्रयत्न गरिरहेका छौँ ।
    संघ संस्थामा आवद्ध भएर काम गर्न थाल्नुभएको धेरै भयो, यसरी काम गरिरहँदा व्यक्तिगत फाईदा चाहीं के हुन्छ ?
    म जतिखेर समाज चिन्न थालेँ त्यतिखेर देखि नै सामाजिक काम गर्न थालेँ । सामाजिक काम गर्दा जुन किसिमको माया ममता, सद्भाव उत्पे्ररणा प्राप्त गरें त्यहिबाट सामाजिक काममा प्रोत्साहित भएँ । मैले गरेको सामाजिक कार्यको कुरा गर्दा मलाई आनन्द लाग्छ । समाजले दिएको जिम्मेवारी पूरा गरि रहँदा कोहि कसैले कुरा गरेको सुन्दा पनि आनन्द लाग्छ । अहिले बाटो, चिया पसलमा शिद्धेश्वर खानेपानीको कुरा गर्दा मलाई उत्साहित वनाउँछ । विहानै कसैले मेरो घरमा पानी आएन भनेर फोन आयो भने पनि त्यो मेरो कर्तव्य हो, मेरो काम हो, दायित्व हो भन्ने महशुस हुन्छ र तत्काल नै आफ्नो दायित्व पूरा गर्न तर्फ लाग्छु । त्यसैले म सामाजिक कार्य प्रति अभ्यस्त भएको छु । म पार्टीको कार्यकता मात्र होईन, मलाई सामाजिक कार्यकर्ताको रुपमा हेरिएको छ, माया गरिएको छ । त्यो सद्भाव, माया प्रति म आत्मा देखि नै आभारी छु । मेरो काम प्रति पनि म विश्वस्त छु । सबैको सरसहयोग र आत्मियताले थप समाजिक कार्यमा उत्पे्ररणा जगाएको छ । यो मेरो गौरव पनि हो ।
    शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको नयाँ रणनीति के छ ?
    मैले सिन्धुलीका राजनीतिक दलका साथीहरुलाई पनि भनेको छु । सिन्धुलीको सदरमुकाममा १५ वर्ष पछि जति जनसंख्या पुग्छ भनेर आँकलन गरेका थियौं, त्यो आज नै पूरा भएको छ । शिद्धेश्वर खानेपानी संस्थाको सेवा क्षेत्रमा प्रत्यक वर्ष १५ सय देखि २ हजार घरहरु निर्माण भईरहेका छन् । यहि अनुपातमा घर वृद्धि हुँदै जाने हो भने अहिलेको व्यवस्थापनमा थप चुनौतीहरु खडा हुन्छन् । सुनकोशी मरिण डाईभर्सनलाई राज्यले गौरबको आयोजनाको रुपमा अगाडी ल्याएको छ । त्यो डाइभर्सनबाट ६ इन्चिको पाईपमा सदरमुकाममा ल्याउने योजना अहिले नै देखि राख्न सक्यौं भने भोली हुने जनसंख्यालाई दिर्घकालीन ढंगले पानीको व्यवस्थापन हन्छ । यसलाई सार्थक रुप दिनको लागि हामी लागि परेका छौं ।
    समग्रमा यो संस्था आफै चल्न सक्ने र यो संस्थाले उपभोक्ताको हकहितमा काम गर्न सक्ने वातावरण बनाउन लागिपरेका छौँ । सरकारले ल्याएको र दात्रृनिकायले दिएको ऋण आफंै तिर्न सक्ने र सम्पूर्ण उपभोक्ताको अपनत्व कायम हुनेखालको काम गर्न हामीलाई थप प्रोत्साहनको खाँचो छ । यहाँको नगरलाई पनि यो संस्थाको विकास र उन्नतीसँगै गाँसेर अगाडी वढ्नु पर्छ भन्ने योजनाका साथ लागिपरिरहेका छौं । यसमा सम्पूर्ण कार्यसमितिको सहयोग छ । यहाँका स्थानीय, संघ संस्था, नगरपालिका, वडा, सँस्थाको कार्य समिति र सम्पूर्णको साथ सहयोग र समर्थनप्रति म आभारी छु ।