• नयाँ भौतिक संरचना निर्माण गर्दा निश्चित कानूनी प्रावधानहरु पूरा गर्नुपर्छ । त्यतिमात्र हैन प्रावधान पूरा गरेर निर्माण सम्पन्न गरिएका तर नक्सा पास लगायतका काम बाँकी रहेकाको हकमा देखिएको समस्या समाधानको लागि पनि केहि प्रकृयाहरु हुन्छन् । घर नक्सा पास तथा नियमित भनेको के हो ? घर नक्सा पास किन आवस्यक छ ? यी र यस्ता विषयहरु थाहा नपाएकै कारण घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । घर नक्सा पास, यसको प्रयोजन, घर नक्सा नियमित तथा भौतिक संरचना निर्माण गर्दा पूरा गर्नुपर्ने प्रकृया लगायतका विषयमा कमलामाई नगरपालिका अन्तर्गत भवन तथा बस्ती विकास शाखाका प्रमुख इन्जिनियर कुल प्रसाद श्रेष्ठसंग संगिता डिम्दोङ्ले गर्नुभएको कुराकानीमा आधारित सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

    कमलामाई नगरपालिकाबाट नक्शा पास गरि निर्माण अनुमति लिएको तर विविध कारणवस निर्माण सम्पन्न प्रमाणपत्र लिन नसकेका घरहरु र मापदण्ड अनुरुप बनेका तर निर्माण ईजाजत नलिई बनेका घरको नक्शा नियमित गरिन्छन् ।

    घर नक्सा नियमित गराउने प्रकृयाका सन्दर्भमा ईच्छुक घर धनिहरुले तोकिएका आवस्यक कागजातहरु संलग्न गरि २०८०।०९।२८ गते भित्र कमलामाई नगरपालिकामा निवेदन दर्ता गराउनुपर्ने हुन्छ । ती कागजातहरु भनेका निर्माण अनुमति नलिएको घर/भवनको लागि हो भने घरको नक्शा २ प्रति, नापी नक्शा (कित्ता नम्वर), नदेखिएमा फाईल नक्शा एक थान, जग्गाधनि पूर्जाको प्रतिलिपि एक थान, घरधनिको नागरिकताको प्रतिलिपि, चालु आर्थिक वर्षको तिरो तिरेको रसिद, बाटो सार्वजनिक नभएको भए वडा कार्यालयको सिफारिस, डकर्मी/ठेकेदारको प्रमाणपत्र प्रतिलिपि, ईन्जिनियरको प्रमाणपत्र प्रतिलिपि, , निवेदन, निर्माणाधिन आवासको फोटो (पिल्लर, ढलान, फ्लोर स्ल्याव ढलान, वाल निर्माण इत्यादि) र चारै तिरबाट देखिने घरको फोटो, घरधनिको फोटो २ प्रति र वडा सर्जमिन मुचुल्का लिएर आउनुपर्ने हुन्छ ।
    यदि निर्माण अनुमति लिई बनाइएका तर निर्माण सम्पन्न प्रमाणपत्र लिन बाँकी घर/भवनको लागि भने निवेदन, निर्माणाधिन आवासको फोटो (पिल्लर, ढलान, फ्लोर स्ल्याव ढलान, वाल निर्माण इत्यादि) र चारै तिरबाट देखिने घरको फोटो र घरधनिको फोटो २ प्रति लिाएर आउनुपर्ने हुन्छ ।

    घर नक्सा पास तथा नियमित गर्दाका फाइदा एवं यसको प्रयोजनको कुरा गर्दा नक्सा नियमित गरिएका घरहरु बैकंमा धितो राख्न सकिने हुन्छ । साथै यसको निर्माण सम्पन्न प्रमाणपत्रको जस्तै मान्यता रहको हुन्छ ।

    नक्सा नियमित सम्वन्धि विशेष व्यवस्था पनि रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४२ मा भएको व्यवस्था अनुसार:– सम्वन्धित व्यक्तिलाई पैतीस दिनको म्याद दिई प्रमाणपत्र दरखस्त दिनको लागि सार्वजनिक सूचना प्रकाशन गरिने छ । खण्ड –क) मा उल्लेखित म्यादभित्र दरखास्त पर्न आएमा स्थलगत रुपमा प्राविधिक जाँचवुझ गरी तथा साँध सँधियार समेतसँग वुझि भवन निर्माण सम्वन्धी मापदण्ड र संहिता पालना भए नभएको भन्ने सम्वन्धमा यकिन गरिने छ । भवन निर्माण सम्वन्धी मापदण्ड र संहिता पूरा गरेको यकिन भएमा हाल नक्सापास गर्न वा स्वीकृत नक्सा हेरफेर गर्नको लागि लाग्ने दस्तुरको तेब्बर दस्तुर लिईने छ । तर हाउजिङ्ग, होटल तथा अन्य व्यवसायिक भवनको हकमा सो व्यवस्था लागू हुने छैन ।

    वस्ती विकास, सहरी योजना तथा भवन निर्माण आधारभूत मापदण्ड २०७२ को दफा ५८ मा भएको व्यवस्था :– घर नक्शा नियमित गर्दा तत्कालीन अवस्थामा तोकिएको सेटव्याकलाई आधार मानी वा सेटव्याक दूरी तोक्नु भन्दा अगावै निर्माण भएको घरहरुलाई सेट व्याक दूरी नपुगेका कारण घरनक्शा नियमित गर्न अप्ठ्यारो पर्ने छैन । यस अघि नगरपालिकामा घरनक्शा पासको लागि निवेदन दर्ता भएकाहरुलाई तत्कालीन अवस्थाको मापदण्ड पालना गरी स्वीकृत नक्शा बमोजिम नै स्ट्रक्चर निर्माण गरेमा बिना जरिवाना पानी, विद्युत सिफारिस तथा नक्शा नियमित गरिनेछ अन्यथा तोकिएको जरिवाना लिई पानी, विद्युत सिफारिस तथा नक्शा नियमित गरिनेछ ।

    घरनक्शा नियमित गर्दा नगरपालिका क्षेत्रभित्रका सडकहरुमा (वि.पि.राजमार्ग र मदन भण्डारी राजमार्ग बाहेक) यदि घरको छज्जा वा पेटी मात्र हाल कायम भएको बाटोको क्षेत्राधिकार भित्र परेका तथा त्यस्ता संरचनाको कारणले तत्काल सार्वजनिक आवागमनमा असर नपर्ने देखिएमा उक्त छज्जा, पेटी नगरपालिका वा सम्वन्धित निकायबाट भत्काउन आदेश दिएका वखत घरधनी आँफैले भत्काउने कबुलियतनामा गरेमा मात्र घरनक्शा नियमित गरिने छ । तर सडक क्षेत्राधिकार भित्र Structural Component (Wall, pillar etc.) परेमा घरनक्शा नियमित गरिने छैन । तर तत्कालीन अवस्थामा नगरपालिकाले कायम गरेको सडक मापदण्ड पालना गरी स्वीकृत नक्सा बमोजिम निर्माण भएका घरहरुको हकमा हाल कायम भएको सडक क्षेत्राधिकार भित्र परेमा नगरपालिकाले भत्काउन आदेश दिएका वखत घरधनी आफैले भत्काउने कबुलियतनामा गरेमा मात्र घरनक्शा नियमित गरिने छ ।

    त्यस्तै घरनक्शा नियमित गर्दा फिल्ड नक्शामा कायम रहेको सार्वजनिक क्षेत्र (कुलो, खोला बाटो, जंगल आदि) रहेको क्षेत्र मिचेर बनाइएको घरको घरनक्शा नियमित गरिने छैन । तर त्यस्ता सार्वजनिक क्षेत्रको सट्टामा हाल प्रयोजन परिवर्तन गरी सार्वजनिक रुपमै प्रयोग गरिएको देखिएमा र नगरपालिकाबाट अनुगमन गर्दा त्यस्ता क्षेत्रको तत्काल उपयोगिता नदेखिएमा घरनक्शा नियमित गर्न वाधा पर्ने छैन । घरनक्शा नियमित गर्दा वि.पि. राजमार्ग मोहडामा रहेका घरहरुको सडक क्षेत्राधिकार (केन्द्र रेखादेखि ३१ मिटर) भित्र छज्जा (झाप), पेटी आदि परेमा उक्त घरहरुको नक्शा नियमित गरिने छैन । उक्त सडक क्षेत्राधिकार भित्र पर्ने भाग भत्काई आएमा घरनक्शा नियमित गर्न सकिने छ तर राजमार्ग मोहोडामा अन्य क्षेत्रमा जस्तो कवुलयितनामा गरी नक्शा नियमित गर्न सकिने छैन ।

    हरेक घर धनिले घर निर्माण गर्दा तथा अन्य भौतिक संरचना निर्माण गर्दा घर नक्सा पास गरेर मात्र गर्नुपर्छ । यसले भविष्यका लागि समेत राम्रो गर्छ । यसका साथै कारणवस हतारमा भौतिक संरचना निर्माण गरिसकिएको छ र मापदण्ड पनि पूरा भएको छ भने त्यस्ता संरचनाको नक्शा नियमित गर्नुपर्छ । यसले वर्तमान अवस्थामा मात्र नभएर भोलिका लागि र बैंक तथा वित्तिय प्रयोजनका लागि समेत सहयोग पुग्छ । सेवाग्राहीले नजानेका कुराहरु कार्यालयमा आएर सोध्न सकिन्छ । यसबाट आगामि दिनमा गरिने घर निर्माण तथा अन्य भौतिक संरचनाका लागि सहज हुन्छ ।