• संघियता पश्चात सिन्धुलीमा ९ वटा स्थानीय तह भए । स्थानीय तहको पहिलो चुनाव पश्चात स्थानीय सरकारको नेतृत्व गर्न पनि फरक फरक पार्टीका व्यक्तिहरु चुनिएर आए । निर्वाचनका बेला जनतासंग गरेका वाचाहरु कतिले साँच्चिकै पूरा गर्न अग्रसर भए भने कतिपयले आँखामा छारो हालेर पाँच वर्ष बिताए । अहिले दोश्रो कार्यकालका लागि चुनिएर आएका नेतृत्वहरुले पनि जनतासंग गरेका प्रतिवद्धताहरु कति पूरा गर्ने हुन् हेर्न बाँकी नै छ । यहाँको गोलन्जोर गाउँपालिकाले स्थानीय तहको दोश्रो निर्वाचन पछि पूरै नयाँ नेतृत्व पाएको छ । गोलन्जोरमा भएका विकास निर्माणका कामको अवस्था, नीति निर्माण तथा अन्य विषयमा आधारित रहेर पालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपान (पुकार) संग संगिता डिम्दोङ्ले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

    १) तपाईँले गोलन्जोर गाउँपालिकाको उपाध्यक्षको पदभार ग्रहण गर्दा गर्नुभएका प्रतिवद्धता अनुरुप काम गरिरहनुभएको छ ?
    – मेरो मुख्य प्रतिबद्धता गोलन्जोरलाई कृषिमा आत्मनिर्भर बनाउने थियो । साथै गोलन्जोर गाउँपालिकाका सम्पूर्ण जनताहरुको जिवनस्तरमा सहयोग गर्ने खालको काम गर्ने प्रतिबद्धता गरेका थियौँ । मानिसको बुझाई पुर्वाधारको बिकास मात्रै बिकास हो भन्ने छ । तर मैले हिजो निर्वाचनमा पनि त्यहि संकल्प गरेको थिएँ कि पूर्बाधारको बिकास संगसंगै मानिसको जिवनस्तर पनि माथि उठाउने छु ।
    निश्चित क्षेत्रमा केन्द्रित गरेर उत्पादनलाई बढाउने गरि लगानी गर्ने तयारीमा छु । जुनार बिस्तारको लागि थुप्रै कार्यक्रम अगाडि बढाइसकेका छौँ भने केहि तयारीमा छन् । जुनार, तरकारी खेती र बाख्रा पालनलाई केन्द्रित गरेर १२ बर्षिय योजना अगाडि बढाइराखेका छौँ । अहिले हामि त्यसैमा केन्द्रित छौँ । निर्वाचित भएर आएको केहि समयमा नै गाउँपालिकाको आन्तरिक कारणले गर्दा लामो समय कार्यालय बन्द भयो । भरखर काम गर्न लागको छौँ । पदभार ग्रहण गर्दा जनतालाई सम्झेर खाएको शपथ र प्रतिवद्धताहरु सम्झेर सोही अनुरुपका काममै हामी केन्द्रित रहनेछौँ ।
    २) आम नागरिक भएर हेर्दा र स्थानीय सरकारको उपाध्यक्ष भएर काम गर्दा कस्तो महसुस गर्नुभयो ?
    – बाहिर बसेर हेर्दा र आज जिम्मेवारीमा बस्दा धेरै नै फरक पाएँ । पालिकासंग अत्यन्तै सिमित श्रोत साधन छन् । जनताको मुद्धा मात्रै बोकेर हिँड्दा निकै सजिलो थियो । जनप्रतिनीधि भैसकेपछि सोही सिमित स्रोत साधनले जनताका असिमित आवश्यक्ताहरु पूरा गर्न निकै असहज महसुस गरेको छु । तथापि पदिय ओहोदामा बसेर जनतासामु कसम खाइसकेपछि पछि हटेर हैन अगाडी बढेरै जनताका समस्या समाधान गर्नतर्फ अग्रसर छौँ ।
    ३) गोलन्जोर गाउँपालिकाले यस आ.व.मा कति प्रतिशत विकास बजेट खर्च ग¥यो ?
    – साउनबाटै सुरु गर्नुपर्ने काम हामिले गाउँपालिकामा बिबादित भैसकेपछि भर्खरैबाट सुरु गरेका हौँ । काम थुप्रै सम्पन्न भैसकेपनि निकास हुन बाँकि नै छ । हामी गुणस्तरीय काम गर्छाैँ । कुनै पनि हालतमा बजेट फ्रिज हुन दिदैनौं । अहिलेसम्म १० प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।
    ४) गोलन्जोर गाउँपालिका कर्मचारी नियुक्ति देखि अन्य विषयमा बढि नै विवादित जस्तो देखिन्छ नी ?
    – यो त सबै अभावका कारण भएको समस्या हो । बरोजगारी, गरिबीको जुन स्थिती छ यसैका कारण सिर्जना भएको गुनासो हो । रोजीरोटी खोसिँदा स्वभाभिक नै गुनासो, विवाद आइहाल्छ । दक्ष जनशक्तिको अभाब भयो । अदक्ष ब्यक्तिहरुको केन्द्रिकरण बढि भैदियो । यो स्थानीय तहको मुख्य समस्या यहि नै छ । राजनीतिक पहँुचको आधारमा आएका कर्मचारीले स्तर मेन्टेन गर्न सकेनन् । गुणस्तरीय प्रतिफल दिन सकेनन् । यस्ता कर्मचारीलाई हटाउँदा आएको बिबाद हो । अन्य बिवाद गाउँपालिकामा छैन ।
    ५) उपाध्यक्षलाई अनुगमनको सम्पूर्ण जिम्मेवारी सुम्पिएको हुन्छ । तर गोलन्जोर गाउँपालिकामा खासै अनुगमन भएको पाइँदैन । यसको कारण के होला ?
    – नियमित अनुगमन नभए पनि मैले आबश्यक भएको खण्डमा अनुगमन गरिरहेको छु । काम नै ढिलो सुरु भएपछि अनुगमन नदेखिएको हो । गाउँपालिकामा पालिकाका, प्रदेश र संघका आयोजनाहरु छन् । म प्रत्येक योजनाको अनुगमन गरिरहेको छु । गुणस्तरहीन भेटिएका सडक निर्माणका काम मैले पुनः गर्न निर्देशन पनि दिएको छु । राजनीतिक कारणले अनुगमन नै रोकिएको भन्ने होइन । विकासको काममा राजनीति दबाब छैन ।
    ६) शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली तथा रोजगार तर्फ तपाईंले गर्नुभएका कामहरु के कस्ता छन् ?
    – शिक्षा
    शिक्षाको क्षेत्रमा हामीले बिद्यालय समायोजन तथा कक्षा समायोजन गर्ने शिक्षा सम्बन्धि समस्या समाधानको लागि मेरै संयोजकत्वमा कार्यदल निर्माण गरेका छौँ । विभिन्न विद्यालयमा गएर विद्यार्थीहरुको सुझाब संकलन कार्य पनि गरिरहेका छौँ । गोलन्जोरका बिकट क्षेत्रहरुमा विद्यार्थी पनि न्युन छन् र विद्यालय समायोजनमा पनि कठिन भैरहेको छ । जटिलताका बिच पनि परिस्थिती अनुसार नै शिक्षामा सुधार ल्याउनको निम्ति समायोजनको प्रयत्न भैरहेको छ । शैक्षिक गुणस्तर बृद्धि गर्नको लागि विद्यालयको अनुगमन पनि भैरहको छ । असन्तुलित विद्यालयमा दरबन्दि मिलानको कार्य अगाडि बढिरहेको छ ।
    स्वास्थ्य
    गाउँपालिकाद्धारा सन्चालित स्वास्थ्य सँस्थाहरुले आधारभूत सेवा प्रदान गरिहेको छ । तत्काल बिज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्न सकिरहेका छैनौं । स्वास्थ्य संस्थाबाट हुने सेवा भने प्रदान भइरहेको छ । नीजि स्वास्थ्य संस्थाबाट जनताले सेवा त पाइरहेका छन् । तर सरकारी तहको अस्पताल नभएका कारण सेवा प्रदानमा समस्या भइरहेको छ । गाउँपालिकामा १५ शैयाको सुबिधा सम्पन्न अस्पताल निर्माणको लागि प्रस्ताव गरिरहेका छौँ र सम्भवत सो काम छिटै हँुदैछ ।
    खानेपानी
    खानेपानीको लागि केहि नीजि सँस्थासंग समन्वय गरेर काम सन्चालन भइरहेको छ । केहि ठाउँमा हाल सम्म पनि समस्या नै छ । भूकम्प भन्दा पछाडि र बस्ति बस्तिमा सडक निर्माण गर्दा धेरै स्थानमा पानीको स्रोत सुकेकाले स्थानीयलाई सास्ती पनि भइरहेको गुनासो छ । पानीको मुहान अभाबका कारण सबै ठाउँमा खानेपानीको लागि समस्या समाधानमा कठिनाई भइरहेको छ । बासेस्वर, खुर्कोट क्षेत्रमा केन्द्रिय बजेटबाट काम पनि भइरहेको छ । गाउँपालिकाको बजेटबाट पनि सम्भब भएका स्थानहरु केहि ठाउँमा काम भइरहेको छ भने केहि ठाउँमा गर्ने तयारीमा छौँ । गोलन्जोरका जनतालाई खानोपनीको सुविधाबाट बन्चित गराउन नपरोस् भन्ने हेतुले हामी काम गरिरहेका छौँ । काम ढिलो छिटो हुन सक्ला ।
    बिजुली
    हाम्रो पालिकाको वडा नम्बर १ को केहि भाग भन्दा बाहेक सम्पूर्ण स्थानमा बत्ति बलिसकेको छ । यहि आर्थिक बर्षको अन्तिममा सबै ठाउँमा हामी बिजुली बत्ति पु¥याउने छौँ ।
    रोजगार
    कृषिलाई व्यवसायिकरण गरेर उत्पादनलाई जोड दिने उद्देश्यले गाउँपालिकाले बाख्रा पालन, जुनार, सुन्तला र तरकारीमा लगानी गरिरहेको छ । जसमा युवाको आकर्षण देखिनुप¥यो । जसको लागि बिभिन्न प्रक्रिया सँस्था दर्ता, अनुदान बितरण तथा बजारीकरणको लागि गाउँपालिका तयार छ । कृषि भन्दा बाहेक रोजगार गाउँपालिकाले दिन सक्ने अबस्था छैन । सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि हो । व्यवसायिक कृषि उत्पादनमा जोड दिने हो भने युवालाई रोजगारीका साथ साथै आत्मनिर्भर पनि बनाउन सकिन्छ । तर यसका लागि उनिहरुमा इच्छा शक्ति चाहिँ हुनपर्छ ।
    ७) गाउँपालिकाको न्यायिक समितीको संयोजक पनि हुनुहुन्छ । विवादहरु आउने क्रम र समाधानको अवस्था कस्तो छ ?
    – गाउँपालिकामा प्रायजसो क्षेत्राधिकार भन्दा बाहिरको मुद्धा बढि आएका छन् । सबैभन्दा बाढि हालसम्म लेनदेनको केश आउने गर्छन् जुन गाउँपालिकाको क्षेत्राधिकार भन्दा बाहिर पर्दछ । हालसम्म २ सय भन्दा बढि विवादहरु आएका छन् । त्यसमध्ये ४० वटा जति फछ्र्याैट भएका छन् भने अरु बाँकी छन् ।
    समाप्त