• जनताको सेवामा काम गर्ने जनप्रतिनीधि भनेर भोलिपनि हामीलाई जनताले सम्झिने कुरामा कुनै शंका छैन । हामीले गाउँपालिकाका जनताको हित भन्दा बाहिर गएर कुनै पनि काम गरेका छौँ जस्तो लाग्दैन । हामी र हाम्रो कामको उचित मूल्यांकन जनताले गर्नुहुनेछ किनभने हामीले मरिण गाउँपालिका जनताले सम्झिने खालका कामहरु धेरै नै गरेका छौँ ।

    सिन्धुलीमा भएका ९ वटा स्थानीय तहहरु मध्ये मरिण गाउँपालिका हरेक गतिविधीमा प्रतिष्पर्धामा आउँछ । गाउँपालिका अन्तरगतका वडाहरुमा गरिएका विकास निर्माणका कामहरु पनि प्रतिष्पर्धामा देखिन्छन् । स्थानीय तहको वर्तमान नेतृत्वको कार्यकाल सकिनै लागेको छ । मरिण गाउँपालिकाले सन्चालन गर्ने गतिविधि, वडा नं.३ मा भएका विकास निर्माणका कामहरु लगायतका विषयमा मरिण गाउँपालिकाका प्रवक्ता तथा ३ नम्वर वडाका वडा अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) सँग सहकर्मी संगिता डिमदोङ्ले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
    १) हिजोआज वडाका कामहरु कसरी सन्चालन भैरहेका छन् ?
    अहिले हामी थुप्रै योजनाहरुलाई कसरी कार्यान्वयन गर्ने र योजनालाई व्यवस्थित ढङ्गले कसरी संचालन गर्ने भन्ने विषयमा केन्द्रित छौँ । हरेक टोलटोलमा विनियोजन भएको वजेटहरुलाई स्टीमेट तथा सम्झौता गराउने लगाएतका काममा गरिरहेका छौँ । वडाका गतिविधिहरु राम्रैसंग सन्चालन भैरहेका छन् ।
    २) कार्र्यकालको अन्त्यतिर हुनुहुन्छ, यो कार्यकाललाई तपाई स्वयमले कसरि हेर्नु भएको छ ?
    यो मेरो कार्यकाललाई चुनौति र सम्भावना दुईवटै रुपमा लिन्छु । पहिलो हाम्रो स्थानीय सरकारको कार्यकाल भएको कारणले गर्दा हामीसँग कुनै किसिमको कार्यलय देखि लिएर कुनै संरचनाहरु नभएको अवस्थामा आफ्नो कार्यकाललाई सहज र प्रभावकारी ढंगले अगाडि बढाउन चुनौति थियो । त्यो सगँसँगै फेरि पनि हामीले नयाँ ढङ्गले समाजलाई डो¥याउने र नयाँ ढङ्गले समाजलाई विकास गर्ने सुनौलो अवसर पनि हामीसंग थियो । यी दुईवटा कुरालाई हामीले ठिक ढङ्गले तालमेल गराएर अगाडि बढाउँदै हामीले सकेसम्म जनताको सेवामा अग्रसर भएर काम गर्यौँ भन्ने लाग्छ । साथै हाम्रो कार्यकाल यो पटकको लागि अन्त्यतिर छौ । अहिलेसम्म हामीले गरेका काममा हामी सन्तुष्ट छौ र जनताहरु पनि हाम्रो काम र सेवाप्रति सन्तुष्ट नै हुनुहुन्छ भन्ने लाग्छ ।
    ३) संघियाता पश्चात तपाईं वडा अध्यक्ष भएपछि वडावासीले संघियताको अनुभव गरेका छन् त ?
    जहाँसम्म लाग्छ हामीले हाम्रो काम गराइ र वहाँहरुलाई प्रदान गरेको सेवा हेर्दा संघियताको अनुभव गर्नुभएको छ जस्तो लाग्छ । हामी वडाको नेतृत्व लिएर आएपछि यहाँ भएका भौतिक संरचना तथा अन्य विकासका कामहरुलाई तदारुक्ताका साथ अगाडी बढायौँ । सडक, खानेपानी लगायतका सेवा सुविधाहरुमा ध्यान पुर्यायौँ । जिर्ण सडक मर्मता संभार गर्यौ । हामीले धेरै ठाउँमा लिफ्टिङ सिस्टमबाट खानेपानीको व्यवस्था गर्यौँ । अहिले मेरो वडामा ३ वटा ठूला– ठूला खानेपानीका आयोजनाहरु संचालन हुदैँ छन् । चनौटे खानेपानी आयोजना, मथौलि खानेपानी आयोजना र नक्कलि डाडाँ खानेपानी आयोजना संचालन हुदैँ छन् । हामीले जहिलेपनि जनतालाई प्राथमिकतामा राखेर काम गर्यौँ । यसकारणले पनि उनिहरुले संघियताको महसुस गर्न पाएका छन् भन्ने मलाई लाग्छ ।
    ४्र) तपाईं वडा अध्यक्ष भएपछि बेरोजगारी समस्या समाधान गर्न तपाइँले कस्ता योजना सन्चालन गर्नुभयो ?
    रोजगारिको हिसाबले हेर्दा मलाई लाग्छ बैदेशिक रोजगारमा जाने प्रायः भाइ बहिनिहरु अहिले गाउँमै कुनै न कुनै काम गरेर घर चलाउन थालेका छन् । किनभने हिजो गाउँमा रोजगार थिएन जसका कारण विदेशीन बाध्य भएका थिए । अहिले बैदेशिक रोजगारवाट आएपछि गाउँमै काम गरेर बस्ने वातावरण बनेको छ । वडा तथा गाउँपालिका क्षेत्रमा सन्चालन भएका विभिन्न परियोजना लगायतका अन्य संघसँस्थाहरुमा आफ्नो योग्यता अनुसारको काम गरेर उनिहरुलाई स्वरोजगार बनाउन हामीले पहल गरेका छौँ । सीप अनुसार कसैलाई डकर्मी, सिकर्मी त कसैलाई आफ्नो सीप अनुसारको काममा लगाउएर उनिहरुलाई रोजगार बनाउन हामीले सहयोग गरिरहेका छौँ । तथ्यांकलाई आधार मानेर भन्ने हो भने पछिल्लो समयमा यहाँबाट बैदेशिक रोजगारीमा जानेहरुको संख्या निकै घटिरहेको छ ।
    ५) तपाईंलाई जन प्रतिनिधि हुदाँ जनतासंग गरेका प्रतिबद्वता पूरा गरें जस्तो लाग्छ ?
    प्रतिवद्वताको हिसाबले विगतको भन्दा केहि राम्रो गर्छौं भनेर हामीले प्रतिवद्वता गरेका थियांै । सोही अनुरुप मैले जनतासंग गरेका ९० प्रतिशत प्रतिवद्धता पूरा गरेको छु जस्तो लाग्छ । एउटै वडामा तिनवटा स्वस्थ्य चौकि खडा गर्न हामी सफल भएका छौँ । नेपाल टेलिकमको टावर निर्माणको चरणमा छ । दुई ठूला सिचाँईका आयोजनाहरु सन्चालनमा छन् । विकासका काम हामीले सोचेभन्दा धेरै भएका छन् ।
    अलिकति बाँकि भनेको अब ऐलानि जग्गालाई लालपूर्जा बितरण गर्ने कुराहरु छ । त्यसमा अलिकति हाम्रो ढिलासुस्ति भएको छ । नयाँ आयोग गठन भैसकेको छ र त्यो हामीले हाम्रो कार्यकाल भित्रमा सम्पन्न गर्न सक्यांै भने हामीले गरेका प्रतिबद्वता भन्दा धेरै कामहरु हुन्छन् जस्तो लाग्छ । तसर्थ हामीले प्रतिवद्धता अनुसारका काम गरेका छौँ भन्ने लाग्छ । यो कुरा जनताले नै मुल्याङ्कन गर्ने कुरा हो ।
    ६) स्थानीय प्राकितिक स्रोत साधनको उत्खन्न र उपयोगलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
    यसमा त्यति धेरै हामीले व्यवस्थापन गर्न सकेका छैनौँ । खासै त्यस्तो खालको उत्पादन गर्न सक्ने वतावरण पनि छैन । अब बिस्तारै उत्पादन गर्ने खालको वातावरण बनाउन हामी लागिराखेका छौं ।
    ७) तपाइँको वडामा आर्थिक पारदर्शीताको अवस्था कस्तो छ ?
    हाम्रो वडामा आर्थिक पारदर्शिता एकदमेै छ । किनभने हामीले कुनै पनि उपभोक्तासँग कर्मचारी या वडा सदस्य, जन प्रतिनिधि वा कसैले आर्थिक लेनदेन नगरुन भनेर कडा निगरानी गर्ने गरेका छौँ । योजनामा प्राविधिक स्टमेट भन्दा दाँया बाँया नगर्ने दाँया बाँया गरेको खण्डमा कानुनि कारवाहि गर्ने गरि लागेका छाँै । चुनौतिको सवालमा त स्वाभाविक रुपमा हुन्छ । किनभने हिजो देखि कर्मचारीले चलाएको व्युरोक्रेसी हो । त्यसो हुदाँ एक्कासि हामीले कन्ट्रोल गर्न खोज्दा चुनौतिहरु त आउँछन् नै । तर अहिले मलाई लाग्छ त्यो चुनौतिहरु समाप्त भैसकेको छ । गाउँपालिकाले हरेक वडालाई पारदर्शी ढंगले काम गर्न निर्देशन दिएको छ । बजेट विनियोजन पनि आवस्यक्ताका आधारमा समान रुपमा विनियोजन गरेको छ ।
    ८) आफ्ना वडाबासी तथा सेवाग्राहीलाई के भन्न चाहानुहुन्छ ?
    जनतालाई सेवादिने कुरामा हामी कुनै कसर बाँकी राख्दैनौ । विकास निर्माणका कुरामा सबै बस्ती टोललाई समेटेर गरेका छौँ । तसर्थ मेरो वडाबासीहरुले मैले गरेका कामलाई र पालिकाबासीले गाउँपालिकाले प्रदान गरेको सेवालाई सकारात्मक रुपमा नै लिनुभएको छ जस्तो लाग्छ । जनताको सेवामा काम गर्ने भनेर भोलिपनि हामीलाई जनताले सम्झिने कुरामा कुनै शंका छैन । हामीले वडाबासी र गाउँपालिकाका जनताको हित भन्दा बाहिर गएर कुनै पनि काम गरेका छौँ जस्तो लाग्दैन । हामी र हाम्रो कामको उचित मूल्यांकन जनताले गर्नुहुनेछ किनभने हामीले मरिण गाउँपालिका जनताले सम्झिने खालका कामहरु धेरै नै गरेका छौँ । मेरा वडाबासीहरु लगायत सिंगो गाउँपालिकाबासीलाई म हृदयदेखि नै धन्यवाद भन्न चाहान्छु ।
    धन्यवाद ।