• जनताबाटै चुनिएर आएकाले जनताको काम गर्नु उसको जिम्मेवारी हो । कानूनले वडा सदस्य देखि गाउँपालिका अध्यक्ष सम्मको स्पष्ट जिम्मेवारी तोकिदिएको छ । त्यो जसरी नी निर्वाह गर्नुपर्ने हुन्छ । आ–आफ्नो जिम्मेवारी निभाउँदा त समस्या केहिपनि छैन । समस्या ल्याइदिउँ भनेर आउँदा समस्या हुँदोरहेछ ।

    १) गोलन्जोर गाउँपालिकामा अध्यक्षको पदभार ग्रहण गर्दा गर्नुभएका प्रतिवद्धताहरु कत्तिको पूरा गर्दै हुनुहुन्छ ?

    – मैले पदभार ग्रहँण गर्दा गोलन्जोर गाउँपालिकाको आबश्यकता हेरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिबद्धता गरेको थिएँ । शिक्षाको क्षेत्रमा २ सय ५० करोड भन्दा बढि बजेट बिनियोज गरी दरबन्दी कम भएका विद्यालयमा अनुदान दिएर बिषयबस्तुमा आधारित शिक्षा प्रदान गरिरहेका छौँ । स्वास्थ्य तर्फ स्वास्थ्य कार्यालयसंगको समन्वयमा विभिन्न औषधीहरु निःशुल्क प्रदान गरिएका छौँ । हामी केहि समयमा नै मुटु सम्बन्धि समस्या भएका बिरामीहरुको लागि दक्ष विशेषज्ञद्धारा निःशुल्क शिविर सन्चालन गर्ने तयारीमा छौँ । यसअघि पनि गाउँ गाउँमा विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरुका लागि शिविर सन्चालन गरिसकेका छौँ । भौगोलिक दृष्टिले हेर्दा हाम्रो पालिका विकट भित्रै पर्छ । यहाँका सकड क्षेत्रमा कम्तिमा ट्र्याक खनिएको छ । यसलाई व्यवस्थित गर्न गाउँपालिकाको सिमित स्रोत साधनले कठिन हुन्छ । यसका लागि संघ र प्रदेश सरकार संग सहयोगका लागि छलफल गरिरहेको छु । व्यवस्थित सडक निर्माणका लागि मेरो कार्यकालमै सम्पन्न गर्नका लागि प्रयत्न गरिरहेका छौँ ।
    २) हिजो आम नागरिकको हैसियतमा बाहिर बसेर हेर्दा र आज स्थानीय सरकारको प्रमुख हुँँदा कस्तो अनुभव गरिरहनुभएको छ ?
    – जिम्मेवरीमा बस्नु र जिम्मेवारी भन्दा बाहिर उभिनु धेरै फरकको कुरा हो । जिम्मेवारी लिएर बसिसकेपछि धेरैले धेरैतिरबाट आसा, अपेक्षा र भरोसा राख्नुहुन्छ जुन स्वभाविक छ । गोलन्जोरबासिको त्यो भरोसालाई कति सम्म पूरा गर्न सक्छु भन्ने जिम्मेवारी बोध भएको छ । नागरिकको रुपमा मात्रै रहँदा गरेनन्, मानेन् भनेर बिरोध मात्रै गरिरहने, मागिरहने स्थिती र आज जनताको आसा कति सम्म पूरा गर्न सक्छु भन्ने जिम्मेवारी र कर्तव्य बोकेर हिँड्नुमा आकाश पातालको फरक महसुस भैरहेको छ । मैले जिम्मेवारीबोध गरेर कर्तव्य निभाउँने काममा कुनै कसर बाँकी नराख्ने प्रयत्न गर्नेछु ।
    ३) गोलन्जोर गाउँपालिकाले यस आर्थिक वर्षमा कति प्रतिशत विकास बजेट खर्च ग¥यो ?
    – हाम्रो गाउँपालिकाको आन्तरिक कारणले गर्दा कार्यपालिका ६ महिना सन्चालन हुन सकेन । ६ महिना सम्म ठप्प रहेको गाउँपालिकाको कार्यालय भर्खर मात्रै सन्चालन भएकाले योजना कतिपय भर्खरै सम्पन्न भएका छन् । हालसम्म भन्दा बिकास बजेट १५ देखि २० प्रतिशत मात्रै खर्च भएको अनुमान छ । भर्खरैबाट काम धमाधम भइरहेको छ । हामी विकास बजेटको दुरुपयोग हुन दिनेछैनौँ ।
    ४) गोलन्जोर गाउँपालिकामा कर्मचारीको नियुक्ति देखि कर्मचारी हटाउने लगायतका विषयमा बढि नै विवाद भईरहन्छ, किन ?
    – हिजो जिम्मेवारीमा हुनेहरुको कार्यकालमा कतिपय कर्मचारी साथिहरु पार्टीगत रुपमा भर्ना भएका थिए । निर्वाचनको समयमा पार्टीगत आस्थाका कारण झण्डा नै बोकेर प्रचार प्रसारमा हिँडेकोे र आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएपछि केहि करारका कर्मचारीलाई अवकास दिएका थियौँ । करारका कर्मचारीलाई अवकास गरे पश्चात ती कर्मचारीले दलको आडमा बिरोधमा उत्रिएका हुन् । केहि समझदारी पश्चात हाल त्यो समस्या टरेको छ । पालिकामा केहि रिक्त रहेका दरबन्दीमा कर्मचारी भर्नाका लागि प्रक्रिया भइरहेको छ । अहिले त्यस्तो समस्या छैन ।
    ५) तपाइँसंग समृद्ध गोलन्जोर निर्माणका योजनाहरु के के छन् ?
    – हाम्रोे गोलन्जोर गाउँपालिका खासगरी तीन खालको भूगोल, तीन खालको संस्कृति र तीन खालको हावापानीको बिशेषता रहेको पालिका हो । गाउँपालिकाले फलफुल भण्डारणको निम्ति सुबिधा सम्पन्न कोल्डस्टोर निर्माणको निम्ति पहल गरिरहेको छ । त्यस्तै पालिकाले कृषकलाई जुनार, सुन्तलाको बिरुवा, बिषादी निःशुल्क बितरण गरिहेको छ । यसले सिंगो गोलन्जोरको आर्थिक स्तर उच्च बनाउँन सहयोग गर्नेछ । यो भनेको माथिल्लो महाभारत क्षेत्रको कुरा भयो ।
    त्यस्तै मध्य भागम भनेको पशु पंक्षि पालन गर्ने र तरकारी खेति गर्ने सम्भावना भएको क्षेत्र हो । जहाँ व्यवसायिक रुपमा पशुपालन तथा तरकरी खेती गरिन्छ । विभिन्न जातका बेमौसमी तरकारी उत्पादन गरेर बजारीकरणको लागि गाउँपालिकाले सहजीकरण गरिरहेको छ । त्यस्तै व्यवसायिक रुपमा फर्म दर्ता गरेर पशुपालन गर्नको निम्ति समूहहरु निर्माण गरेर उक्त समूह मार्फत कृषकरुलाई प्राबिधिक आर्थिक रुपमा सहयोग गरिरहेका छौँ । पशु पालन कृषकहरुको प्रोत्साहनको निम्ति विभिन्न तालिमको पनि यवस्था गरेका छौँ ।
    तल्लो सुनकोशीको किनार भेगको उर्बरा जमिनमा कृषकले विभिन्न बेमौसमी तरकारी, धान, मकै, गहुँ जस्ता नगदे बाली पनि उब्जनी गर्ने गरेका छन् । उनिहरुलाई आधुनिक प्रणाली द्धारा अन्न उत्पादन र तरकरी उत्पादनको निम्ति अधिकतम साधन स्रोत उपलब्ध गराएर उनिहरुको जीवनस्तर उकास्ने प्रयत्नमा छौँ । अब को ५ बर्षमा कृषकको जिवनमा परिवर्तन ल्याउनको लागि यो हाम्रो अभियान हो । हामी यसमा सफल पनि हुन्छौँ । यो मेरो प्रतिवद्धता हो ।
    ६) जुनार उत्पादनको पकेट क्षेत्र मानिने गोलन्जोर गाउँपालिकामा यो बर्ष तोकिएको मूल्य नआएको भनेर कृषकले जुनार बिक्री नगरी बोटमै छोडेका गुनासाहरु आएका थिए । स्थानीय उत्पादनलाई व्यवस्थापन गर्न स्थानीय सरकारको भूमिका कमजोर भएको जस्तो लाग्दैन ?
    – जुनारमा किरा लाग्ने समस्याको लागि गोलन्जोर गाउँपालिकाले प्रोटिनभेट भन्ने बिषादी खरिद गर्नको लागि भर्खरै कृषकलाई १० लाख बजेट बिनियोजन गरेको छ । पहिले कृषक सँग ५० प्रतिशत र जुनार सुपरजोन सँग ५० प्रतिशत लगानीमा बिषादी खरिद गरिने गरिएको रहेछ । साना कृषकहरुले ५० प्रतिशत लगानि गर्न नसकेर रोग निवारण हुन नसक्दा निकै मर्कामा परेका कृषकलाई यसले राहत मिलेको छ । निःशुल्क बिषादी बितरणपछि सम्पूर्ण कृषकको यो समस्या समाधान भएको छ ।
    त्यस्तै कृषकको दिर्घकालिन समस्या समाधानका लागि जुनार सुन्तला भण्डारण गर्न सुबिधा सम्पन्न कोल्डस्टोर निर्माणका लागि पहल भइरहेको छ । त्यस्तै जो कृषकले जुनारको बिरुवा नै खरिद गर्न सक्नुहुन्न त्यस्ता कृषकको लागि निःशुल्क बिरुवा बितरण गर्ने योजनमा छौँ । २५ लाख बराबरको जुनार, सुन्तालाको बिरुवा खरिदको लागि गाउँपालिकाले बजेट बिनियोजन समेत गरिसको छ ।
    कृषकले भनेको मूल्य नआएको भन्ने एकादुई समस्या पनि छन् । हरियोमै जुनार बिक्री गरिदिनेपनि समस्या छ । खासगरि एकैचोटी जुनार पाक्ने भएकाले पनि त्यो समस्या आउने गरेको हो । यसका लागि भण्डारण गर्ने कोल्डस्टोर निर्माण पश्चात यस्तो समस्याको पनि समाधान हुनेछ भन्ने बिश्वास लिएको छ्ु ।
    ७) कार्यपालिकामा काँग्रेसको बहुमत छ । पालिकाको काम कार्यवाही तथा विकास निर्माणका काममा सहजता छैन होला नी ?
    – नेपाल सरकारले स्थानीय तहको कानून निर्माण गर्दा दलिय रुपमा विभाजन गरेको दलिय अबधारणा छैन । तर पनि समस्या के भैदियो भने निर्वाचनको समयमा विभिन्न चिन्हबाट निर्वाचित हुँदा त्यसले दलगत रुपमा छुट्याउँछ नै । त्यति धेरै समस्या छैन । तर समस्या नै छैन भन्ने अवस्था पनि हैन । यहि समस्याका कारण हामी ६ महिना रुमल्लियौँ । ६ महिना सम्म कार्यालय नै ठप्प हुनुप¥यो । जनताबाटै चुनिएर आएकाले जनताको काम गर्नु सबैको जिम्मेवारी हो । वडा सदस्य देखि गाउँपालिका अध्यक्ष सम्मको स्पष्ट जिम्मेवारी तोकिदिएको छ । त्यो जसरी नी निर्वाह गर्नुपर्ने हुन्छ । आ–आफ्नो जिम्मेवारी निभाउँदा त समस्या केहिपनि छैन । समस्या ल्याइदिउँ भनेर आउँदा समस्या हुँदोरहेछ । म अधिकतम लचकताका साथ सबै साथिहरुलाई समेटेर गोलन्जोरबासिको सेवा प्रवाहमा कन्जुस्याइँ नगरी, अरुलाई पनि नगर्न आग्रह गदैँ कुनैपनि दलगत गन्ध नआउने गरि सौहार्द्रपूर्ण वातावरणमा ५ बर्षको कार्यकाल सम्पन्न गर्ने प्रतिबद्धतता व्यक्त गर्दछु ।
    समाप्त ।