आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ : महेश बस्नेत
सिन्धुली/नेकपा एमालेका नेता महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।
सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले वर्तमान सरकारको कामकारबाहीप्रति जनता सन्तुष्ट नरहेको र त्यसको प्रभाव आगामी निर्वाचनमा देखिने बताउनुभएको छ ।
बस्नेतले घण्टी चुनाव चिह्नमा मतदान गरेका मतदाताहरु समेत एमालेमा फर्किन थालेको दाबी गर्दै जनताको आकर्षण एमालेतर्फ बढिरहेको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका विकास निर्माण तथा जनहितका कामलाई जनताले मूल्यांकन गर्ने उहाँको भनाइ थियो ।
उहाँले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । सरकार कानुनी शासनको दिशामा अघि बढ्न नसकेको टिप्पणी गर्दै उहाँले सरकारलाई सही बाटोमा ल्याउनुपर्ने बताउनुभयो ।
बस्नेतले बालेनको आडमा अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालको संविधानमाथि हस्तक्षेप गर्न खोजिरहेको समेत पत्रकार सम्मेलनमा बताउनुभयो ।प्रधानमन्त्री बालेनको भारत भ्रमण, राष्ट्रपतिसँगको सम्बन्ध तथा सरकारका गतिविधिकोबारेमा पनि उहाँले प्रश्न उठाउनुभएको थियो ।
उहाँले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा स्वास्थ्य बिमा, विद्यालय दिवा खाजा, सामुदायिक विद्यालय निर्माण, सामाजिक सुरक्षा कोष स्थापना तथा विद्यालयमा आईसीटी ल्याब सञ्चालनलगायतका काम भएको दाबी गर्नुभयो ।
त्यस्तै सुकुम्बासी व्यवस्थापन, विकास निर्माण र विपद् प्रभावितको उद्धारमा एमालेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सरकारका विभिन्न गतिविधिमाथि प्रश्न उठाउँदै बस्नेतले जनतालाई सरकारको कामकारबाहीबारे जानकारी गराउनुपर्ने बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा जनताको मतमार्फत राजनीतिक दलहरूको कामको मूल्यांकन हुने धारणा समेत व्यक्त गर्नुभयो ।


