जिल्लाको दुई पालिकाले अब जग्गा प्रशासन सम्बन्धी सेवा आफ्नै पालिकाबाट दिने
सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका र मरिण गाउँपालिकाले अब जग्गा प्रशासन सम्बन्धी सेवा आफ्नै पालिकाबाट दिने भएको छ ।
सरकारले देशभरका ३५ स्थानीय तहहरुलाई पहिलो चरणमा छनोट गर्दै सिन्धुलीको दुधौली र मरिणलाई पनि नापी तथा मालपोत सेवा सञ्चालनका लागि अनुमति दिएको हो ।
भूमि प्रशासन कार्यालयको अनुसार सङ्घीय सरकारको परिपत्रपछि जिल्लाका सबै स्थानीय तहहरुलाई सेवा सञ्चालनका लागि तयारी गर्न भनिएको थियो ।
त्यसअनुसार जिल्लाको दुधौली नगरपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलञ्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाले मन्त्रालयमा आसयपत्र पठाएका थियो ।तर कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाले भने आसयपत्र पठाएको थिएन् ।सोही अनुसार दुधौली नगरपालिका र मरिण गाउँपालिका पहिलो चरणमै छनोटमा परेको हो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तानको अनुसार पालिकाले यहि आउँदो जेठको पहिलो सातादेखि सेवा सञ्चालन गर्ने तयारी गरीरहेको छ ।उहाँको अनुसार हाल आवश्यक जनशक्ति व्यवस्थापन, कर्मचारी तालिम तथा सेवा सञ्चालनको आधारभूत तयारी धमाधम भईरहेको छ ।त्यस्तै दुधौली नगरपालिकाले भने आगामी साउन १ गतेदेखि सेवा सुरु गर्ने तयारी गरीरहेको छ ।



