अपाङ्गता परिचयपत्र अब स्मार्ट कार्डमा,कमलामाईबाट सेवाको शुभारम्भ

सिन्धुली/सिन्धुली जिल्लामै पहिलो पटक कमलामाई नगरपालिकाले नेपाल सरकारको सामाजिक सूचना व्यवस्थापन प्रणाली (एसआईएमएस ) मार्फत स्मार्ट अपाङ्गता परिचयपत्र वितरण कार्यको शुभारम्भ गरेको छ ।

आज बिहिबार एक कार्यक्रमको आयोजना गर्दे अपाङ्गता भएका नागरिकलाई आधुनिक, सुरक्षित तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले डिजिटल स्मार्ट अपाङ्गता परिचयपत्र वितरण सेवा सुरु गरेको हो ।

 

नगरपालिकाको अनुसार सामाजिक सूचना व्यवस्थापन प्रणाली नेपाल सरकारको डिजिटल सूचना व्यवस्थापन प्रणाली हो, जसमार्फत सामाजिक सुरक्षा तथा अपाङ्गता परिचयपत्रसँग सम्बन्धित लाभग्राहीहरूको विवरण अभिलेखीकरण, अद्यावधिक, प्रमाणीकरण र व्यवस्थापन गरिन्छ। यस प्रणालीले सेवा प्रवाहलाई थप पारदर्शी, व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउँदै तथ्याङ्कको एकीकृत व्यवस्थापनमा सहयोग पु¥याउँछ ।यसअघि कागजी ढाँचामा वितरण हुँदै आएको अपाङ्गता परिचयपत्र अब एसआईएमएस   मार्फत स्मार्ट कार्डका रूपमा वितरण हुन थालेको हो ।

आधुनिक डिजिटल प्रविधिमा आधारित यस परिचयपत्रमा लाभग्राहीको विवरण सुरक्षित रूपमा अभिलेखीकरण गरिएको हुन्छ । यसबाट परिचयपत्रको विश्वसनीयता अभिवृद्धि हुनुका साथै नक्कली परिचयपत्रको सम्भावना न्यून हुने, तथ्याङ्क सुरक्षित रहने, आवश्यक पर्दा छिटो प्रमाणीकरण गर्न सकिने तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख मञ्जु देवकोटाले सूचना प्रविधिको अधिकतम उपयोग गर्दै नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले स्मार्ट अपाङ्गता परिचयपत्र वितरणले अपाङ्गता भएका नागरिकको सम्मान, पहिचान र सेवामा पहुँचलाई थप सहज, सुरक्षित र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा नगरपालिकाका अन्य सेवासमेत क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरी सुशासन प्रवद्र्धन गरिने समेत बताउनुभयो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतले डिजिटल प्रणालीमार्फत परिचयपत्र वितरण हुँदा तथ्याङ्क व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र विश्वसनीय हुने उल्लेख गर्दै यसबाट प्रशासनिक कार्यमा पारदर्शिता, अभिलेख व्यवस्थापनमा सहजता तथा सेवा प्रवाहमा गति आउने बताउनुभयो। उहाँले प्रविधिमैत्री सार्वजनिक सेवा विस्तारका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा प्रमुख, महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख, अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य, सम्बन्धित शाखाका कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *