खेतीप्रति किसानको आत्मविश्वास बढाउँदै ढैँचा
सिन्धुली/“गाउँपालिकाबाट ढैँचाको बीउ पाएपछि मैले केही वर्षदेखि नियमित रूपमा प्रयोग गर्दै आएको छु । ढैँचालाई हरियो मलका रूपमा माटोमा मिसाउँदा माटो पहिलेभन्दा धेरै मलिलो भएको अनुभव गरेको छु ।”
यो अनुभव हो हरिहरपुरगढी गाउँपालिका वडा नम्वर २ जखौलीकी किसान अन्जु राईको । उनले गाउँपालिकाबाट प्राप्त ढैँचाको बीउ रोपि खेती गर्दा माटो मलिलो हुनुको साथै उत्पादकत्वमा पनि वृद्धि हुदैँ गएको आफ्नो केही वर्षदेखिको अनुभव साझा गरेकी हुन् ।
गाउँपालिकाले खेतीको लागि माटो उर्वर बनाउने ढैँचाको बीउ निःशुल्क वितरण गरेको सुनाउँदै उनले भनिन् “अहिले रासायनिक मलको आवश्यकता पनि केही कम भएको छ । धान मात्रै होइन, त्यसपछिका बालीको उत्पादन पनि बढेको छ । समयमा मल नपाउने समस्या भोग्दैआएका हामीलाई ढैँचा लगाएर धान रोपेपछि रासायनिक मलको अभाव टरेको छ ।”
ढैँचा एक यस्तो विशेष बाली हो, जसले माटोको स्वास्थ्य सुधार गर्दै रासायनिक मलको प्रयोग घटाउन महत्वपूर्ण भूमिका खेल्छ । नेपालमा पछिल्ला वर्षहरूमा रासायनिक मलको अभाव र मूल्यवृद्धिले किसानहरू समस्यामा परिरहेका बेला हरियो मल बालीको प्रयोगलाई वैकल्पिक उपायका रूपमा अघि सारिएको छ । कृषि उत्पादन वृद्धि गर्न र माटोको उर्वराशक्ति जोगाउन हरियो मल बालीको प्रयोग प्रभावकारी मानिन्छ । ढैँचा पनि निकै प्रभावकारी बाली हो ।
कृषकहरुको कृषि उत्पादन बढाउने, माटोको उर्वराशक्ति जोगाउने र रासायनिक मलमा निर्भरता कम गर्ने हेतुले गाउँपालिकाले सञ्चालन गरेको माटो स्वास्थ्य सुधार कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ ।

यो एक हरियो मल बाली हो जसले वायुमण्डलमा रहेको नाइट्रोजनलाई आफ्नो जरामा रहेका सूक्ष्म जीवाणुको सहयोगबाट माटोमा स्थिर गर्छ । रोपिएका बिरुवा परिपक्व भएपछि खेतमै जोतेर माटोमा मिलाइँदा यो कुहिएर प्राकृतिक जैविक मलमा परिणत हुन्छ । यसले माटोमा जैविक पदार्थको मात्रा बढाउनुका साथै माटोको बनावट सुधार्ने, पानी धारण गर्ने क्षमता वृद्धि गर्ने र उत्पादनशीलता बढाउने काम गर्छ । यसर्थ स्थानीय तह, कृषि विकास कार्यालय र कृषकहरुले रासायनिक मलको प्रभावकारी विकल्पका रूपमा ढैँचालाई लिने गरेका छन् ।
माटोको उर्वराशक्तिलाई विशेष प्राथमिकतामा राखेर हरिहरपुरगढी गाउँपालिकाले पनि पछिल्ला केही वर्षदेखि किसानहरूलाई ढैँचा खेतीतर्फ आकर्षित गर्दै आएको छ । गाउँपालिकाले माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत कृषकहरूलाई निःशुल्क ढैँचा बीउ वितरण गर्दै आएको छ । कृषकहरुको कृषि उत्पादन बढाउने, माटोको उर्वराशक्ति जोगाउने र रासायनिक मलमा निर्भरता कम गर्ने हेतुले गाउँपालिकाले सञ्चालन गरेको माटो स्वास्थ्य सुधार कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ ।
सामान्यतया धान रोपाइँ गर्नुभन्दा केही साता अघि खेतमा ढैँचा रोपि त्यसलाई पर्याप्त बढ्न दिएर जोतेर माटोमा मिलाउने गरिन्छ । त्यसपछि धान रोप्ने गरिन्छ । यही वैज्ञानिक विधिलाई अहिले हरिहरपुगढी गाउँपालिकाका किसानहरुले धमाधम प्रयोगमा ल्याइरहेका छन् ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/२०८३ मा मात्रै करिब १० लाख रुपैयाँ बराबरको २ हजार २ सय ४० केजी ढैँचा बीउ कृषकहरूलाई निःशुल्क वितरण गरेको थियो । सामान्यतया धान रोपाइँ गर्नुभन्दा केही साता अघि खेतमा ढैँचा रोपि त्यसलाई पर्याप्त बढ्न दिएर जोतेर माटोमा मिलाउने गरिन्छ । त्यसपछि धान रोप्ने गरिन्छ । यही वैज्ञानिक विधिलाई अहिले हरिहरपुगढी गाउँपालिकाका किसानहरुले धमाधम प्रयोगमा ल्याइरहेका छन् ।

हरिहरपुगढी गाउँपालिकाकै अर्का कृषक खड्गबहादुर राइ पनि ढैँचाको प्रयोगले लगाएको बालिबाट नोक्सान कम मात्रामा व्यहोर्नुपर्ने बताउँछन् । “पहिले हामी ढैँचा प्रयोग गर्दैनथ्यौं । माटोको उर्वराशक्ति घट्दै गएको थियो, बाली पनि राम्रो हुँदैनथ्यो र धेरै पटक नोक्सानी व्यहोर्नुपथ्र्यो ।” उनले भने, “अहिले ढैँचा रोपेर हरियो मलका रूपमा प्रयोग गर्न थालेपछि माटो मलिलो भएको छ । धान तथा अन्य बाली पनि राम्रोसँग सप्रिन थालेका छन् । रासायनिक मलको आवश्यकता पनि केही कम भएको छ । अहिले उत्पादन बढेको छ र खेतीप्रति अझै आत्मविश्वास बढेको छ ।”
गाउँपालिकाले हरियो मल बाली ढैँचाको प्रयोगलाई प्रोत्साहन गर्दै कृषकहरूलाई निःशुल्क बीउ वितरण गरेपछि अञ्जु राई र खड्गबहादुर राई मात्रै नभई अन्य कृषकहरूको पनि उत्पादन वृद्धि, खेती खर्चमा कमी र माटोको गुणस्तरमा सुधार आएको छ । हरिहरपुरगढी गाउँपालिकाको यो पहललाई स्थानीय कृषक समुदायले सकारात्मक रूपमा लिएको छ ।
गाउँपालिकाले केवल बीउ वितरणमा मात्र सीमित नरही किसानहरूलाई ढैँचा खेतीको विधि, यसको फाइदा तथा माटो व्यवस्थापन सम्बन्धी प्राविधिक परामर्श पनि उपलब्ध गराउँदै आएको छ । साथै आगामी वर्षको लागि पनि बजेट विनियोजन भइसकेको हरिहरपुगढी गाउँपालिकाका कृषि अधिकृत प्रवेश देवकोटाले जानकारी दिए । उनले भने, “हरिहरपुगढी गाउँपालिकाले केवल ढैँचाको बीउ वितरणमा मात्र सीमित नरही किसानहरूलाई यसको खेती गर्ने विधि, फाइदा र माटो व्यवस्थापन सम्बन्धी प्राविधिक परामर्शसमेत प्रदान गर्दै आएको छ ।
हरिहरपुरगढी गाउँपालिकाद्वारा सुरु गरिएको ढैँचाको निःशुल्क बीउ वितरण र प्राविधिक परामर्श अभियानले कृषकहरूको उत्पादन लागत घटाउँदै माटोको गुणस्तर सुधारमा प्रभावकारी नतिजा देखाएको छ ।

चालु आर्थिक वर्षमा माटो स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत २ हजार २ सय ४० केजी ढैँचा बीउ वितरण गरिएको छ ।” आर्थिक वर्ष २०८२/८३ मा करिब १० लाख रुपैयाँ बराबरको बीउ वितरण गरिएको स्मरण गराउँदै देवकोटाले भने “आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पनि आवश्यक बजेट विनियोजन भइसकेको छ । किसानहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले यो कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्न हामीलाई प्रेरणा दिएको छ ।”
गाउँपालिकाले कृषि क्षेत्रमा दिगोपन, माटो स्वास्थ्य संरक्षण, जैविक खेती प्रवर्द्धन तथा कृषकमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । यसले उत्पादन वृद्धि मात्र होइन, वातावरण संरक्षण र रासायनिक मलमाथिको निर्भरता घटाउन समेत महत्वपूर्ण योगदान पुर्याइरहेको छ । यो अभियान प्रभावकारी रूपमा निरन्तर अघि बढ्न सके यसले किसानको उत्पादन लागत घटाउने, माटोको स्वास्थ्य जोगाउने र कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ ।
यसले समृद्ध हरिहरपुरगढी निर्माणको सपना साकार पार्न एउटा बलियो आधार तय गर्नसक्छ । हरिहरपुरगढी गाउँपालिकाद्वारा सुरु गरिएको ढैँचाको निःशुल्क बीउ वितरण र प्राविधिक परामर्श अभियानले कृषकहरूको उत्पादन लागत घटाउँदै माटोको गुणस्तर सुधारमा प्रभावकारी नतिजा देखाएको छ । रासायनिक मलको निर्भरता कम गरी जैविक खेतीलाई प्रवर्द्धन गर्ने यो दिगो पहलले स्थानीय उत्पादनमा वृद्धि र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याएकोछ ।
(हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा तयार गरिएको)



