• जेठ २२, सिन्धुली/मरिण गाउँपालिकाले ३ सय भन्दा बढी ज्येष्ठ नागरिकलाई रेडियो र छाता वितरण गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत गाउँपालिकाका ३ सय ५६ जना ज्येष्ठ नागरिकलाई एक/एक थान रेडियो र छाता वितरण गरेको हो ।

    आज एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ( प्रख्यात ) ले ज्येष्ठ नागरिकलाई सो सामाग्री वितरण गर्नुभएको थियो । मरिण गाउँपालिका –१ का १ सय ४४ जना र वडा नम्व २ का २ सय १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै रेडियो र छाता प्रदान गरेको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।

    एक्लोपन भूलाउन, विभिन्न समाचार, संगित, सुचना इत्यादी श्रवण गरेर सहजता बनाउन रेडियो दिइएको उहाँले बताउनुभयो । “रेडियो सुन्ने सँगै रातिको समयमा उज्यालो टर्चको रुपमा प्रयोग हुने किसिमको छ । विजुलीको सुविधा नहुँने स्थानका नागरिकलाई ब्याट्री र बिजुली दुवैबाट उपयोग गर्न सक्नहुनेछ । ; अध्यक्ष मोक्तानले भन्नुभयो ।
    घाम र पानीबाट बच्नको लागि छाता दिइएको भन्दै हाम्रो अभिभावकको लागि पालिका अभिभावकको जिम्मेवारीको महत्वपुर्ण भूमिकामा रहेको मोक्तानले बताउनुभयो । हेर्दा सामान्य र सानातिना भएपनि सो मामग्रीले ज्येष्ठ नागरिकको जिवनयापनमा सहजता हुने आसा रहेको उहाँले भन्नुभयो ।
    रेडियो र छाता पाएपछि ज्येष्ठ नागरिकको मुहारमा निकै खुसि छाएको छ । मरिण गाउँपालिका —२ रातमाटाका पदम बहादुर जिम्बा आज (बुधबार) विहान ८ बजे वडा कायालयमा आइपुग्नुभएको थियो । २ नम्बर वडाका वडा अध्यक्ष कमल बहादुर आलेले गाउँपालिकाले ज्येष्ठ नागरिकलाई रेडियो र छाता वितरण गर्दै छ भनेको सुचना जिम्बा समक्ष पुगेकोले आज सबेरै वडा कार्यालय आइपुग्नु भएको जिम्मा बताउनुहुन्छ ।
    बाख्रा गोठालो जाँदा सारथीको काम गर्ने बर्षौ पूरानो रेडियो कहिले कहिले बज्नै छोडिसकेको थियो । आज गाउँपालिकाले बोलाएर नयाँ रेडियो र छाता दिएपछि ७५ बर्षिय जिम्बा निक्कै खुसि हुनुभएको छ ।
    २ नम्बर वडा सिर्थौलीकी दुधीमाया बल रेडियो र छाता पाएपछि गाउँपालिकाले आफ्नै आमा जस्तो माया गरेको भन्दै खुसि व्यक्त गर्नुभयो । यो पहिलो पटक गाउँपालिकाले नयाँ योजना मार्फत गाउँपालिकाको २ वटा वडामा मात्रै सो कार्यक्रम सन्चालन गरेको हो ।
    कार्यक्रम फलदायी भए अन्य वडामा पनि नयाँ आर्थिक बर्षबाट सुरु गरिने अध्यक्ष मोक्तानले बताउनुभयो ।