• वैशाख २९, सिन्धुली/मरिण गाउँपालिकाको आमा बाबु विहिन बालबालिकालाई भत्ता वितरण गरिएको छ । आमा बाबुको मृत्यु भएको तथा वेपत्ता भएका पालिका भित्रका ६० जना बालबालिकाहरुलाई भत्ता वितरण गरिएको हो ।

    बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा मरिण गाउँपालिकाको समन्वयमा ‘बालबालिकामा लगानी सुनिश्चीत भविष्यको थालनी’ भन्ने नारा सहित आमा बाबु विहिन बालबालिका संरक्षण कार्यक्रम अन्र्तगत भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ( प्रख्यात) ले बताउनुभयो ।

    ५ जना आमा बावु दुबै नभएका बालबालिका र ५५ जना आमा बाबु वेपक्ता भएका र अर्को विवाह गरेर अलग भएका अभिभावकका बालबालिकालाई भत्ता वितरण गरिएको सो गाउँपालिकाको महिला विकास शाखाका मिना कुमारी गिरीले जानकारी दिनुभयो । आमा बावु दुबैको मृत्यु बालबालिकालाई मासिक २ हजारको दरले बार्षिक २४ हजार प्रदान गरिने छ भने आमा नभएको अथवा बावु नभएको, वेपक्ता भएका अभिभावकका बालबालिकालाई बार्षिक ८ हजार ५ सय ७१ रुपैयाँ भत्ता वितरण गरिएको छ ।

    बागमति प्रदेश सामाजिक विकास मन्त्रालयले मरिण गाउँपालिकालाई बार्षिँक ६ लाख रुपैयाँ आमा बावु विहिन बालबालिका संरक्षणको लागि बजेट विनियोजन गर्ने गरेको छ । आमाबाबु विहिन बालबालिकाको संरक्षण कार्यक्रम कार्यान्वयनको लागि आमाबाबु विहिन १८ बर्ष उमेर पूरा नगरेका बालबालिका वा निजको संरक्षक, वा स्याहार सुसार गर्ने व्यक्तिले गाउँपालिकाले तोकेको आवेदन ढाँचा बमोजिम सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजातहरु सहित मरिण गाउँपालिका अन्तरगतका सम्वन्धित वडा कार्यालयमा आवेदन दिन गाउँपालिकाले आग्रह गरेको थियो ।

    सोहि आवेदनबाट गाउँपालिकाले आमा बावु विहिन बालबालिकाको पहिचान गरेर भत्ता वितरण गरेको हो । सो भत्ता बालबालिकाको शिक्षा तथा पालनपोषणमा खर्च गरिनु पर्ने गाउँपालिकाले जनाएको छ ।