• वैशाख १७, सिन्धुली/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले आज ९ सय ५० सहयोगी दाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरेको छ । विश्व रेडक्रस दिवसको सन्दर्भमा एक औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका नागरिकहरुका लागि निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले १ करोड ५० लाखको अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो । जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बामगती प्रदेशसभा सदस्य शुष्पा भुजेल, जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा लगायतले दाताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखा जसरी सक्रियताका साथ लागिरहेको छ त्यसरीनै गाउँपालिका र वडामा पनि सक्रियता र जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभएको छ । दाहालले जिल्लाका नागरिकका लागि आपतकालिन समयमा निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले अक्षयकोष स्थापनाको लागि नेतृत्वकर्ता, पहलकर्ता तथा हातेमालो गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले आगामी दिनहरुमा पनि विपद् र विकासमा रेडक्रस सक्रियताका साथ अगाडि बढ्ने अपेक्षा राख्नुभएको छ ।
    “जहाँ विपद हुन्छ, त्यहाँ रेडक्रसको उपस्थिती हुन्छ । सिन्धुलीको सन्दर्भमा विपद् र विकास दुइटैमा रेडक्रसको सहभागि छ । जनतामा परेको सुख, दुःखमा सक्रिय पहलकदमी भएको पाइन्छ । सामाजिक सँस्थामा प्रभावकारी हस्तक्षेप गर्न सक्ने क्षमता भएकोले अन्य जिल्लाको तुलनामा सिन्धुलीमा बढीनै काम भएको छ” सांसद दाहालले भन्नुभयो । निःस्वार्थ भावले सहयोगको अपिल गरेको कारणले नै आज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले ऐतिहासिक काम सम्पन्न गर्न सफल भएको दाहालले बताउनुभयो ।
    निःशुल्क रगत उपलब्ध गराउने उद्देश्यले अक्षयकोष स्थापनाको लागि सिन्धुलीका स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, संघसंस्था तथा सिन्धुलीमा जन्मिएर संसारका विभिन्न देशमा बस्दै आउनुभएका व्यक्ति एवं संस्थाहरुले रकम सहयोग गर्नुभएको सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो । अभियान अन्तर्गत ९ सय ५० दाताहरुबाट १ करोड ६२ लाख ५१ हजार ५ सय रुपैयाँ संकलन भएको श्रेष्ठले बताउनुभयो ।
    “अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ । आकस्मिक समस्या पर्दा राहत होस भनेर निःशुल्क रगत उपलब्ध गराउन अक्षयकोष स्थापना गरेका हौँ” सभापति श्रेष्ठले भन्नुभयो ।