• वैशाख ५, सिन्धुली/सिन्धुलीमा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ट्राफिक कारबाहीबाट झण्डै डेढ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका अनुसार साउनदेखि चैत मसान्तसम्म एक करोड ४८ लाख ७८ हजार ५०० रुपैयाँ राजस्व उठेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकमाथि गरिएको कारबाहीबाट उक्त राजस्व उठेको हो ।

    उक्त अवधिमा १९ हजार ४५१ सवारी चालकमाथि कारबाही भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख यज्ञबहादुर पालले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा सबैभन्दा कम एक हजार १२ कारबाही भएका थिए । जसबाट सात लाख ६५ हजार रुपैयाँ राजस्व उठेको थियो ।
    यस्तै सबैभन्दा बढी मंसिर महिनामा दुई हजार ८०३ सवारी चालकमाथि कारबाही हुँदा २० लाख ८५ हजार रुपैयाँ राजस्व उठेको थियो ।
    भदौ महिनामा एक हजार ४९९ कारबाहीबाट ११ लाख २३ हजार रुपैयाँ, असोजमा दुई हजार २०५ कारबाहीबाट १७ लाख १६ हजार ५०० र कात्तिकमा एक हजार ८५७ कारबाहीबाट १४ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख पालले बताउनुभयो ।
    यसैगरी पुस महिनामा दुई हजार ७०३ कारबाही हुँदा २० लाख ४० हजार ५०० रुपैयाँ राजस्व उठेको थियो । माघमा दुई हजार ६७३ कारबाहीबाट २० लाख ३५ हजार ५००, फागुनमा २ हजार ३५३ कारबाहीबाट १८ लाख ३१ हजार ५०० र चैतमा २ हजार ३४६ कारबाहीबाट १८ लाख ६१ हजार ५०० रुपैयाँ राजस्व उठेको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।