• सम्झन्छु बिपुला,
    तिमी संगको पहिलो भेट,
    लाग्थ्यो एउटा् गुलाफको फूलले सिउडी जस्तो
    म लाई मन परायो।
    साना साना तिखा आँखा,लाली ओठ,
    राता गाला,कुर्थी लागाएकी उनी घुम्टी हटाउदा,
    हावामा सल्बलाउने केशराशीहरु,
    आहा!
    दुई ओठमा चेपेर कान्छी औंली,
    मुस्कुराएथ्यौ
    खुब उधुम चलेथ्यो यो दिलमा।
    सायदै सिंगो मधेसले सिंगो पहाडलाई,
    मायाको पटुकीमा बाधेर बेरेको
    आभास मिलेथ्यो त्यो दिन।

    कसरी फूल्यौ त्यो दिन मेरो दिलमा
    मलाई थाहा छैन ,
    पहाडमा दाउराको भारी सहेको थोत्रे टिशर्ट,
    आलीको हिलो र बारीका कान्लाले रुचाएको
    जमानाको मैलो पाइन्ट,
    नसुहाउने शिरमा मिलेको ढाकाटोपी,
    साच्चै पाखे जस्तै है।
    मात्रै लगाएको थिए नयाँ जुत्ता हजार रुपैयाँको ।
    सायद तिमीलाई भेट्दा नयाँ चिज यहीँ थियो म संग,
    म कत्ति बुद्धू ,
    लाग्थ्यो ,
    जुत्ता देखेरै पो भुल्यौ कि है।

    सुरु पनि तिमी अन्तिम पनि तिमी,
    तिमीलेनै भनेकी हैनर?
    तर प्रेममा यसरी संकटकाल निस्कियोकी
    मेरो मुटुले प्रत्येक दिन आयु घटाउनु पर्थ्यो तिम्रो यादमा।
    जसरी नौजवान सेनाको गोलीले ढलेका थिए जनमुक्ति सेनाहरु,
    जसरी जनमुक्ती सेनाको गोलीले ढलेका थिए नौजवान सेनाहरु।

    याद छ,
    जिन्दगी नामको सफर पूरा गर्न हामीले,
    कैयन दिनहरुको सफर संगै ग¥यौ,
    संगै हिड्यौ,संगै रोयौ संगै खुसी भयौ।
    तिमीलाई स्पर्श गर्न कति संकोच मान्थे यी हातहरु,
    बरु पटकपटक छोइएका थिए,
    निसंकोच ती नयाँ जुत्ता लगाएका खुट्टाहरुले,
    तिम्रा सुकोमल गोडाहरु।

    यतिबेला म त्यही बसको त्यही सिटमा बसेर,
    त्यही गाउँ अनि तिमीलाईनै भेट्न आएको छु बिपुला।

    तर
    उहीँ हासो उहीँ खुसी
    उहीँ चेहरा देखुला नदेखुला तिमीमा ।
    उहीँ ठाउमा भेटुला नभेटुला तिमीलाई ।
    तिमी उसै गरि हासे पनि बोले पनि रोए पनि ।

    बिपुला!
    यतिबेला म संग
    उहीँ पुरानो जुत्ता त छ,
    तर छैनन जुतामा उहीँ पालिसहरु
    बगाइहालेनी चुरेको खोलाले
    तर तिमीले मेरो लागि भनेर
    सम्झिरहने तिमी सम्म आउने मेरा यादहरु,
    भिजेको जुताको बगेको,
    पालिस जस्तै छ कि छैनन बिपुला?

    नवीन संघर्ष
    सिन्धुली