रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय ८१ कुकुरलाई रेबिज खोप
असोज १०,सिन्धुली/सिन्धुलीमा ४ दिनमा ३ सय ८१ वटा छाडा छोडिएका कुकुरलाई रेबिज रोग विरुद्धको खोप लगाइएको छ । विश्व रेबिज दिवस २०८० को अवसरमा कमलामाई नगरपालिकाको पशु विकास शाखाको आयोजनामा रेबिज सप्ताह अन्तर्गत ४ दिनमा बजार क्षेत्रका सडकमा छाडा छोडिएका ३ सय ८१ कुकुरलाई खोप लगाइएको हो ।
रेबिज रोग उन्मुलनको लागि असोज ७ गते बाट १२ गते सम्म निःशुल्क खोप कार्यक्रम सन्चालन गरिएको पशु विकास शाखा कमलामाई नगरपालिका सिन्धुलीका डाक्टर रोसन कोइरालाले जानकारी दिनुभयो । बजार क्षेत्रको १ नम्बर बजार, गैरिबजार, २ नम्बर बजार, स्टल बजार, जुनार चोक, धुराबजार शान्तिनगर चोक, रातमाटा र ढुङ्ग्रेबास र क्षेत्रका कुकुरलाई खोप लगाइएको छ ।
विश्व रेबिज दिवस २०८० को अवसरमा “एक स्वास्थ्य एक गन्तव्य” भन्ने मुल नारा सहित कमलामाई नगरपालिकाको बजार क्षेत्रको ५ सय देखि ७ सय कुकुरलाई रेविज बिरुद्धको निःशुल्क खोप लगाउने लक्ष्य रहेको पशु विकास शाखाका डाक्टर कोइरालाले जानकारी दिनुभयो ।
साथै कमलामाई नगरपालिकाको १४ वटै वडामा पशु प्राविधिकलाई परिचालन गरिएको छ । नेपाल सरकारले २०३० सम्ममा रेबिज रोगलाई देशबाटै उन्मुलन गर्ने लक्ष्य लिएकोले सोहि लक्ष्यलाई अबलम्बन गरेर रेबिज रोगलाई निर्मुल पार्नको निम्ति निःशुल्क खोप कार्यक्रम सन्चालन गरिएको डाक्टर कोइरालाको भनाई छ ।
सप्ताहव्यापी निःशुल्क रेबिज बिरुद्धको खोप कार्यक्रममा कमलामाई नगरपालिकाका पशु शाखाका डाक्टर रोसन कोइराला, अधिकृत मिन बहादुर थापा, पशु प्राविधिक लगायत २५ जनाको समूह परिचालन भएका छन् । नेपालमा हरेक वर्ष रेबिजका कारण करिब ९ सय जनाको मृत्यु हुने गरेको छ । यसरी मर्नेहरू अधिकांश बालबालिका छन् । पशु स्वास्थ्य निर्देशनालयका अनुसार रेबिजको भाइरस अघिकांश कुकुरको टोकाइबाट सर्ने गर्छ ।