• “जिल्लामा मेयर कप क्रिकेट प्रतियोगिता, उपमेयर कप क्रिकेट प्रतियोगिता, अध्यक्ष, उपाध्यक्ष कप जस्ता प्रतियोगिताहरुको आयोजना किन गरिँदैन ? स्तरिय क्रिकेट खेल्नका लागि स्तरिय मैदानबारे किन सवै मौन छन् ? के यहाँ क्रिकेट खेलाडीहरुको खडेरी परेको छ ? यी यावत विषयमा सोच्न अव ढिला भैसकेको छ ।”


    क्रिकेटलाई डच शव्द ‘क्रिक’ बाट आएको भनेर विश्वास गरिन्छ । जसको अर्थ लट्ठी हुन्छ । औपचारिक रुपमा सन् १६४६ मा पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ भनेर विकिपिडीयामा उल्लेख छ ,जुन बेलायतको केन्टमा भएको थियो । तर यस खेलको सुरुवात भने पाँचौं शताव्दीतिर भएको मानिन्छ । एक्काइसौँ शताव्दीको यो अवस्थासम्म आइपुग्दा विश्वले निकै पुस्तासम्मलाई पुग्नेखालको क्रिकेटको इतिहास रचिसकेको छ ।
    वर्तमान अवस्थामा नेपालमा क्रिकेट खेललाई खासै चासोका साथ प्राथमिकतामा राखेको जस्तो लाग्दैन । जव प्रतिष्पर्धाको समय आउँछ तवमात्र राष्ट्रिय टिम घोषणा गर्ने, अभ्यासमा बोलाउने जस्ता अपरिपक्क निर्णयसंगै काँचो व्यवहारले गर्दा क्रिकेट खेल र खेलाडीहरुलाई खास महत्व दिइएको छ जस्तो लाग्दैन । चितवनमा पहिलो पटक निर्माण भैरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले निरन्तरता पाउनु नेपाली क्रिकेट क्षेत्रमा गरिएको एउटा देखिने कर्म हो । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरुले विभिन्न देशमा गएर प्रतिष्पर्धामा भाग लिएर सफलता प्राप्त नगरेका पनि होइनन् । नेपाली क्रिकेट खेलाडीहरुले अन्य मुलूकमा गएर आफ्नो क्षमता प्रदर्शन नगरेका पनि होइनन् । उनिहरुले व्यक्तिगत मात्र नभै देशको इज्जत राख्ने काम समेत गरेका छन् । पारस खड्का, सन्दिप लामिछाने, सोमपाल कामी लगायतका नेपाली क्रिकेट खेलाडीहरुले विदेशी मैदानमा समेत आफ्नो जादु देखाइसकेका छन् ।
    हामीले यहाँ मेयर कप, उपमेयर कप, नगरपालिका, गाउँपालिका अध्यक्ष कप, उपाध्यक्ष कप भनेर धेरै पटक फुलवल प्रतियोगिता, भलिवल प्रतियोगिता आयोजना गरेको हेरिसकेका छौँ । यो अभ्यास देशका अरु स्थानमा पनि भएकै छ । अव भोलि हाम्रै जिल्लामा पनि वार्ड कप फुटवल, भलिवल प्रतियोगिता आयोजना होलान् । उच्च ओहोदाका विभिन्न कर्मचारीहरुवीच पनि समय समयमा फुटवल प्रतियोगिताको आयोजना हुनेगर्छ । तर जिल्लामा मेयर कप क्रिकेट प्रतियोगिता, उपमेयर कप क्रिकेट प्रतियोगिता, अध्यक्ष, उपाध्यक्ष कप जस्ता प्रतियोगिताहरुको आयोजना किन गरिँदैन ? स्तरिय क्रिकेट खेल्नका लागि स्तरिय मैदानबारे किन सवै मौन छन् ? के यहाँ क्रिकेट खेलाडीहरुको खडेरी परेको छ ? यी यावत विषयमा सोच्न अव ढिला भैसकेको छ । यसर्थ विभिन्न नाम दिएर अन्य प्रतियोगिताको आयोजना गरेजस्तै क्रिकेटलाई पनि प्राथमिकतामा राखेर स्थानिय तहले प्रतियोगिताहरुको आयोजना गर्न पछि हट्नुहुँदैन । क्रिकेट खेलप्रति चासो राख्ने र खेलाडीहरुले पनि यस विषयमा चासो राखेर सम्वन्धित निकायलाई घच्घच्याउनुपर्छ । सरोकारवाला सवैको साथ र सहयोगमा यहाँ छिटै बृहत क्रिकेट प्रतियोगिताको आयोजना भएको हेर्ने क्रिकेटप्रेमीहरुको अपेक्षा चाँडै पूरा हुनेछ, आस राखौँ ।