• जंगल बचाई देउ यो देशको बहुमुल्य खानी बचाईदेऊ ।
    दिल म आफैं बचाउँछु लौन सरकार जवानी बचाईदेऊ ।

    अब नयाँ सृजना गर्न सक्दैनौ संस्कृतिको थाहा भयो
    यी डोका, डाला, हर्पे, ढुंग्रो, ठेकी मदानी बचाईदेऊ ।

    बैँस अनि पैसा मै माथि लगानी गरेर सिध्याएँ जिन्दगी
    बचाउने नै भए यी मेरा बाआमाको लगानी बचाईदेऊ ।

    देशले सिमाना बचाउन सकेन आफ्नै देशका नेताबाट
    बिन्ती मास्टर साप बच्चाहरुको आनिबानी बचाईदेऊ ।

    कालरात्री जसोतसो बितायौँ अब कालो दिन नभोगौं
    बाँकी छ समय सक्नेभए सुनौलो बिहानी बचाईदेऊ ।

    मैयाँ लामिछाने

    सिन्धुली