मौरीको घारमा स्वादिलो सपना बुन्दै मरिणका किसान
सिन्धुली/मौरीपालन सम्वन्धि तालिम सहित विशेष अनुदानमा मौरीका आधुनिक घार पाएपछि मरिण गाउँपालिका वडा नं.७ का विनोद मैनाली यतिवेला निकै उत्साहका साथ मौरीपालन व्यवसायमा लागेका छन् । आवस्यक श्रोत साधन सहित आफ्नो रहरको व्यवसायमा लाग्न पाउँदा निकै जाँगर चलेको उनि बताउँछन् ।
संघीय सरकारबाट प्राप्त ५७ लाख ५० हजार रुपैयाँको सहयोगमा गाउँपालिकाले ५ दिने व्यावहारिक तालिम सञ्चालन गरेको थियो । यसका साथै पालिकाले इच्छुक कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८१ वटा आधुनिक घारसहित अन्य आवश्यक सामग्री समेत वितरण गर्यो । त्यही ८१ वटा मध्यको १० वटा घार पाउने किसान हुन् विनोद मैनाली ।
मैनाली यसअघि पुस्तौंदेखि चलिआएको परम्परागत ढंगले मौरी पाल्दै आएका थिए । न आधुनिक घार, न वैज्ञानिक ज्ञान, न व्यावसायिक सोच । केबल खोपिएको काठमा घुमिरहने मौरीहरु । “पहिले आफूले पालेको मौरीको मह निकाल्न जाँदा मौरीको टोकाई सहनुपर्थ्यो । मह पनि फोहोर र कम गुणस्तरको हुन्थ्यो । मौरी मर्ने, भाग्ने वा रोग लाग्ने जस्ता समस्या बारम्बार हुन्थ्यो । मह निकाल्न पनि सजिलो थिएन । धेरैजसो समयमा आधा मह मात्र बच्थ्यो” मैनालीले पूरानो अनुभव सुनाए । तर अहिले यी सबै समस्याहरुबाट छुटकारा पाएको उनी बताउँछन् । “अहिले घार सजिलै खोल्न, जाँच गर्न, मह निकाल्न र मौरीको स्वास्थ्य हेर्न सकिन्छ । मौरीको संख्या बढाउन र नयाँ परिवार बनाउन पनि सजिलो भएको छ” मैनालीले खुसी व्यक्त गर्दै भने, “यो वर्षबाट उत्पादन दोब्बर बढ्ने अपेक्षा गरेको छु ।”
आधुनिक घार, मौरी परिवार, चाकु, धुवाँ दिने उपकरण, सुरक्षात्मक पोशाक लगायतका सामाग्री ५० प्रतिशत अनुदानमा दिएपछि स्थानीय मौरीपालन किसानहरु निकै उत्साहित देखिन्छन् । मौरीपालन व्यवसायलाई परम्परागत सीमाबाट निकालेर व्यावसायिक उचाइमा पुर्याइ कृषकहरुलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको लक्ष्य अनुरुप यो कार्यक्रम सन्चालन गरिएको गाउँपालिका अध्यक्ष बिमर्श मुक्तानले बताए । मैनाली सहित १५ जना किसानहरु व्यवसायिक मौरीपालनमा लागेका छन् ।
परम्परागत मौरीपालनलाई सुधार्दै आधुनिक प्रविधितर्फ लैजानका लागि मरिण गाउँपालिकाले यसको व्यावसायिकतामा ध्यान दिएको छ । जस अन्तर्गत गाउँपालिकाले ‘मौरीपालन प्रवर्द्धन तथा घार वितरण अभियान’ यस वर्ष देखि सञ्चालनमा ल्याएको छ । आधुनिक घार, मौरी परिवार, चाकु, धुवाँ दिने उपकरण, सुरक्षात्मक पोशाक लगायतका सामाग्री ५० प्रतिशत अनुदानमा दिएपछि स्थानीय मौरीपालन किसानहरु निकै उत्साहित देखिन्छन् । मौरीपालन व्यवसायलाई परम्परागत सीमाबाट निकालेर व्यावसायिक उचाइमा पुर्याइ कृषकहरुलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको लक्ष्य अनुरुप यो कार्यक्रम सन्चालन गरिएको गाउँपालिका अध्यक्ष बिमर्श मुक्तानले बताए । मैनाली सहित १५ जना किसानहरु व्यवसायिक मौरीपालनमा लागेका छन् ।

मैनाली मात्र हैन मरिण गाउँपालिका १ खलंगाकी ३२ वर्षीया सुमित्रा सुयालले पालिकाले यसै वर्ष देखि सुरु गरेका ‘मौरीपालन प्रवर्द्धन तथा घार वितरण अभियान’ ले आफ्नो रहर पूरा गराइदिएको बताइन् । आज भन्दा अगाडि मौरी नपालेको र त्यस सम्बन्धि कुनै ज्ञान पनि नभएको पालिकाले घारसंगै तालिम दिएर व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरेकोप्रति सुयालले खुशी व्यक्त गरेकी छिन् ।
मौरी पाल्ने उत्कट इच्छा राखेकी उनले पालिकाले सूचना निकाल्ने बित्तिकै आवेदन दिएकी थिइन् । अन्ततः उनी पनि यस कार्यक्रमममा छनौट भइन् । उनले आवश्यक प्राविधिक ज्ञान सहित अनुदानमा ६ वटा मौरीको घार पाइन् । सुयाल भन्छिन् “नाम छनौट नभएको भए पैसा तिरेर नै घार किनेर मौरीपालन गर्थेँ ।” सुरुवाती चरण भएकाले यसबाट हुने आम्दानीका बारेमा भने उनले अहिल्यै थाहा नभएको सुनाईन् ।
‘मौरीपालन प्रवर्द्धन तथा घार वितरण अभियान’ अन्तर्गतका अर्का लाभान्वित किसान हुन्, मरिण गाउँपालिका ३ भालुमाराका ३९ वर्षीय वीर बहादुर घलान । गाउँपालिकाले मौरीको घार वितरण गरेर आफूहरुलाई व्यावसायिक बन्न प्रेरित गरेकोे अनुभव घलानले साझा गरे । आज भन्दा अगाडि मौरी नपालेका घलानले पनि आवश्यक तालिम सहित ५ वटा मौरीको घार पाएका छन् । अब उनको सोँच गाउँपालिकाले देखाएको मार्गदर्शनलाई पछ्याएर व्यावसायिक रुपमा मौरीपालन गर्ने रहेको छ । घलानले भने “गाउँपालिकाको यस कार्यक्रमबाट एकदम धेरै खुसी छु । राम्रो भयोभने व्यवसायकै रूपमा निरन्तरता दिने उद्देश्य छ ।”

आवश्यक प्राविधिक ज्ञान सहित घार प्राप्त गरेका अन्य कृषकहरुको अनुभव र योजना पनि यस्तै उत्साहजनक रहेको छ । मौरीपालन प्रवद्र्धन तथा घार वितरण अभियानले परम्परागत शैलीमा मौरी पाल्दै आएका कृषकहरुलाई आधुनिकतातर्फ उक्लिन बल पुगेको छ । त्यस्तै भर्खर सुरु गरेका कृषकहरुलाई नयाँ आशा संगै व्यवसायि बन्न प्रेरणा मिलेको छ । गाउँपालिकाबाट आधुनिक घार प्राप्त गरेपछि पालिकाका कृषकहरुको मौरीपालनमा उल्लेखनीय परिवर्तन आएको छ ।
उता गाउँपालिकाले पनि यो अभियानलाई निरन्तरता दिने बताएको छ । आगामी वर्षहरूमा थप कृषकहरूलाई समेट्दै मौरीपालनलाई मुख्य आयस्रोतको माध्यम बनाउने पालिकाको लक्ष्य रहेको छ । यसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनलाई पनि प्रोत्साहन मिल्नेछ । मरिण गाउँपालिकाले सञ्चालन गरेको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीलाई रुपान्तरण गर्दै आधुनिक प्रविधिसँग कृषकहरुलाई प्रत्यक्ष रुपमा जोडिन मद्दत गरेको छ ।
समृद्ध मरिण निर्माणको अभियानलाई सार्थक बनाउन यो कार्यक्रमले महत्वपूण भूमिका निर्वाह गर्नसक्ने कुरामा दुविधा देखिँदैन । अन्त्यमा यसरी भन्न सकिन्छ “किसानलाई प्रविधिमैत्री आधुनिक घार : व्यावसायिक मौरीपालनको आधार ।”
(मरिण गाउँपालिकाको आर्थिक सहयोगमा तयार गरिएको)



