सिन्धुलीमा म्याद गुज्रिएका २१ हजारका खाद्य सामग्री नष्ट, चार व्यवसायीलाई २३ हजार जरिवाना
सिन्धुली/चाडपर्व लक्षित बजार अनुगमनका क्रममा सिन्धुलीको सुनकोशी र गोलन्जोर गाउँपालिकामा म्याद गुज्रिएका २१ हजार २४० रुपैयाँ बराबरका खाद्य सामग्री नष्ट गरिएको छ ।
अनुगमनका क्रममा कैफियत भेटिएका चार व्यवसायीलाई कुल २३ हजार रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, सुनकोशी गाउँपालिका तथा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीलगायतका निकायको संयुक्त टोलीले बीपी राजमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट, खाना तथा खाजा घर र खाद्य सामग्री बिक्री गर्ने पसलमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बिक्री तथा वितरणका लागि राखिएका म्याद गुज्रिएका खाद्य सामग्री फेला परेपछि ती सामग्री नष्ट गरिएको थियो। कैफियत भेटिएका व्यवसायीमध्ये बालमिकेश्वर सप्लायर्स, सुनकोशी गाउँपालिका ६ सीता खाद्य स्टोर्स र सुदिक्षा किराना पसल, सुनकोशी गाउँपालिका-४ रहेका छन् । अनुगमन टोलीका अनुसार कारबाहीमा परेका चार व्यवसायीलाई कुल २३ हजार रुपैयाँ जरिवाना गरिएको हो ।
त्यस्तै गोलन्जोर गाउँपालिका-७ स्थित होटल त्रियुगाले पटक-पटक दिइएको निर्देशन पालना नगरेको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री तथा वितरण गरेको र सरसफाइको अवस्था सन्तोषजनक नराखेको पाइएको छ। उक्त होटलमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख तथा अनुगमन समितिका सदस्य दिनेश सुवेदीले जानकारी दिनुभयो ।
अनुगमन टोलीले खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न र व्यवसाय सञ्चालनस्थलमा उचित सरसफाइको व्यवस्था गर्न व्यवसायीलाई निर्देशन दिएको छ। साथै, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न सचेत गराइएको छ ।

चाडपर्वका समयमा खाद्य पदार्थको माग र कारोबार बढ्ने भएकाले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिइएको सम्बन्धित निकायले जनाएको छ ।


