सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस सम्पन्न

सिन्धुली/सिन्धुली सेवा समाज, कतारको २३औँ स्थापना दिवस तथा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम-२०२६ विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

शुक्रबार, ९ अक्टोबरमा कतारको दोहास्थित प्लाजा महलमा रहेको जिम्बु थकाली रेस्टुरेन्टमा कार्यक्रम आयोजना गरिएको हो ।समाजका कार्यवाहक अध्यक्ष दीर्घबहादुर माझीको अध्यक्षता तथा बागमती प्रदेश समन्वय परिषद्, कतारका अध्यक्ष कविन्द्र कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार तथा सिन्धुलीवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजका महासचिव राज आले मगरले गरेका थिए भने संस्थाकी प्रथम उपाध्यक्ष बेलीमाया गोली सविताले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा सहभागी विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले स्थापना दिवस तथा विजयादशमीको शुभकामना व्यक्त गर्दै समाजको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा समाजका सल्लाहकार तथा पूर्वअध्यक्ष दीर्घबहादुर बुरुजा मगरले संस्थाको स्थापना, उद्देश्य, गतिविधि तथा सामाजिक योगदानबारे जानकारी गराएका थिए । त्यस्तै विशेष सल्लाहकार तथा पूर्वअध्यक्ष पुरुषोत्तम सुनुवारले संस्थाको इतिहास, सामाजिक भूमिका र आगामी दिनमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे धारणा राखेका थिए ।

समाजसेवी तथा बुद्धिजीवी डीएन मगर र सागर नेपालले कतारमा रहेका नेपालीहरूलाई विभिन्न समसामयिक विषयमा सचेत गराउँदै आवश्यक जानकारी तथा सचेतनामूलक सन्देश दिएका थिए ।

विजयादशमीको शुभकामना आदानप्रदानसँगै नेपाली कला, संस्कृति र आपसी सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको समाजका प्रचार-प्रसार विभागका महासचिव राज आले मगरले जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै कार्यवाहक अध्यक्ष दीर्घबहादुर माझीले प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, कलाकार, पत्रकार, शुभेच्छुक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि संस्थाका सामाजिक तथा मानवीय सेवाका गतिविधिमा साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

विदेशमा रहेर पनि जन्मभूमि सिन्धुलीको पहिचान, भाषा, संस्कृति र सामाजिक एकताको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय समाजले आगामी दिनमा सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *