सिन्धुलीको रानीबासमा निःशुल्क आँखा शिविर, १९ जनामा मोतिबिन्दु पहिचान
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबासमा सञ्चालित निःशुल्क मोतिबिन्दु छनोट शिविरमा १७८ जनाको आँखा परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा १९ जनामा मोतिबिन्दु पहिचान भएको छ ।स्थानीय नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरीएको शिविरमा आँखा परीक्षणका साथै अन्य आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो ।

शिविरमा मोतिबिन्दु पहिचान भएका १९ जना बिरामीको आगामी कार्तिक १३ र १४ गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । यसबाट मोतिबिन्दुका कारण दृष्टि समस्यामा परेका बिरामीले आवश्यक उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

शिविर सञ्चालनमा नेपाल रेडक्रस सोसाइटी रानीबास-१३ उपशाखा तथा कमलामाई नगरपालिका वडा नम्बर १३ ले स्थानीय स्तरमा सहयोग पु¥याएका थिए ।
त्यसैगरी शिविरका लागि सहयोग उपलब्ध गराउने तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, Nge Alik and Tee and Zhang Wen’s Family, Singapore, Good Vision Nepal तथा जानकी आँखा अस्पताल जनकपुरप्रति आयोजकले आभार व्यक्त गरेको छ।
ग्रामीण तथा स्थानीय क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्न यस्ता शिविर प्रभावकारी हुने विश्वास गरिएको छ । शिविरले आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्न, उपचारमा पहुँच बढाउन तथा समुदायमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रष्ठले जानकारी दिनुभयो ।



