सिन्धुलीमा आयुर्वेद कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी समापन
सिन्धुली/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित आयुर्वेद कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी शुक्रबार सिन्धुलीमा समापन भएको छ ।
आयुर्वेद सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशका कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. अभिषेक ताम्राकार विशेष अतिथिका रूपमा सहभागी थिए ।
गोष्ठीमा जिल्लामा सञ्चालित आयुर्वेद सेवाको प्रभावकारिता, हालसम्म हासिल भएका उपलब्धि, सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा चुनौतीहरूबारे समीक्षा गरिएको थियो भने आगामी दिनमा आयुर्वेद सेवालाई थप गुणस्तरीय, प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशी सहित विभिन्न कार्यालयका प्रमुख, व्यवस्थापन समितिका सदस्य, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।



