भैँसीगोठमा खुसी छ बजगाँइ परिवार

सिन्धुली/मरिण गाउँपालिका ७ महेश्वताका सुशिल बजगाँई बिहान ५ बज्दा गोठमा हुन्छन् । हातमा बाल्टीन र काँधमा तौलिया उनको साथैमा हुन्छ । थकानभन्दा बढी उनको मुहारमा सन्तोषको चमक देखिन्छ । ७ वर्ष मलेसियामा पसिना बगाएर फर्किँदा उनमा जति निराशा छाएको थियो त्यो भन्दा ज्यादा उज्यालो उनको दैनिकीमा अहिले देखिन्छ।

उनको दैनिकी अहिले फेरिएको छ । मरिण गाउँपालिकाले निकालेको ‘भैँसी वितरणको सूचना’ ले बजगाँइको दैनिकी फेरिएको हो । गाउँपालिकाले दिएको एउटा उन्नत जातको मुर्रा भैंसीबाट उनको जीवनस्तर सोचेभन्दा सहज र सफल बन्न सकेको हो ।

विदेशको ४० डिग्री घाममा काम गरेको सम्झिँदै बजगाँइ भन्छन् “देश, घर परिवार सवै भुलेर काम गर्दा महिनाको ६०/७० हजार कमाई हुन्थ्यो । तर मन खुसी थिएन । खाने, सुत्ने, आफन्तसंग कुरा गर्ने र आफ्नो लागि समय दिने कुरा त निकै परको थियो ।” सात वर्षपछि मनमा निकै दिक्दारीले सतायो र निर्णय गरेँ “अव देश फर्किन्छु, उतै केही गर्छु।”

नेपाल फर्किने बेला उनको घरमा दुईवटा भैंसी थिए । त्यही गोठलाई व्यवस्थित गरेर अरु भैँसी थपेर व्यवस्थित रुपमा अघि बढौँ भन्ने उनको मनमा लागेको थियो । तर उनलाई हौसला दिने र लगानी गरीदिने मान्छे भने कोही थिएनन् । त्यो बेला भैंसी पाल्ने कुरा उनको मनमा नै सिमीत भयो । त्यतीबेलाको समयमा उनको घरका भैंसीहरुबाट दिनको १८ देखि २० लिटर दूध उत्पादन हुन्थ्यो । घरबाट डेरीसम्म दुध लैजान झन्डै ३ किलोमिटर बाटो हिँड्नुपर्थ्यो ।

त्यहीबेला मरिण गाउँपालिकाले एउटा सूचना निकाल्यो । सूचनामा भनिएको थियो “समयमा पशुपन्छी तथा मत्स्यपालन व्यवसायलाई व्यवसायीकरण गर्दै आय आर्जनको भरपर्दो श्रोतको रुपमा विकास गरी गरिबी न्युनीकरण तथा खाद्य पोषण सुरक्षामा प्रत्यक्ष योगदान पुर्याउने उद्देश्यले मरिण गाउँपालिकाले पालिकाको वडा नम्बर १, ७ र ६ का स्थानीयहरुलाई लक्षित गरी विशेष अनुदानमा संघीय सरकारको सहयोग र पालिकाको आयोजनामा १ करोड २० लाख वजेटमा उन्नत जातको मुर्रा भैंसी वितरण गरिनेभएकाले मापदण्ड पुगेका किसानहरुले तोकिएको समयभित्र आवेदन दिनुहुन अनुरोध गरिन्छ ।”

बजगाँइले यसलाई एउटा सुनौलो मौकाको रुपमा लिए र पालिकामा बुझेर आवेदन दिए । सुशिलले आवेदन दिएको केहि महिनामा उनले पालिकाको ५० प्रतिशत अनुदानमा ३ वटा भैंसीहरु पाए । अहिले बजागाँइको गोठमा साना र ठूला गरी २१ वटा भैंसी छन् । पालिकाले दिएको उन्नत जातको मुर्रा भैंसीले निकै राम्रो लाभ दिएको उनी सुनाउँछन् । उनले आफ्नै लगानीमा पनि केही भैँसी थपे।

उनको दैनिकी आजभोलि घर परीवार र गोठभरीका भैँसीहरुको स्याहार सुसारमा बितिरहेको छ । पालिकाले उनलाई केवल भैंसी मात्र दिएको छैन । भैँसीलाई चाहिने हिउँदे घाँस, बर्षे घाँसको बिउ र गोठ सुधारको लागि भनेर सयम समयमा अनुदानहरु समेत दिएको छ । त्यस्तै समय समयमा आवश्यकता अनुसार निःशुल्क औषधीहरु समेत वितरण गरीरहेको उनी बताउँछन् । आफ्नो पालिकाक्षेत्रका किसानहरुलाई पालिकाले आवस्यकता अनुसार घाँसको बिउ, पशुस्याहारका लागि औषधि तथा निःशुल्क प्राविधिकहरु उपलव्ध गराइरहेको पालिका अध्यक्ष बिमर्श मुक्तानले बताए । किसानको हक हित तथा किसानमैत्री कार्यक्रम सन्चालन गर्न मरिण गाउँपालिकाले कुनै कन्जुस्याइँ नगरेको मुक्तानले स्पष्ट पारे।

एता बजगाँइको गोठमा भएका भैंसीले अहिले दिनको ९० लिटर दुध उत्पाद गरीरहेका छन् । सुशिलकै भनाईलाई आधार मान्ने होभने उनको वार्षिक आम्दानी अहिले १५ लाख भन्दा बढी छ । विदेश छोडेर आएकोमा उनलाई रत्ति पनि पछुतो छैन । पालिकाले दिएको ३ वटा भैँसीले पाएका पाडा पाडी पनि राम्रो स्याहार पाएपछि अहिले राम्ररी हुर्किरहेका छन्।

बजगाँइको परिवारमा १६ जना छन् । आमा, बुबा, दाई, भाउजु र छोराछोरी । अहिले बजगाँइ परिवारको मुख्य पेशा नै भैंसीपालन हो । ठूलो परिवार भएकाले गोठमा भैँसीको स्याहारसुसार गर्न अन्य मानिस राख्नुपरेको छैन । आफू नहुँदा पनि घरका सदस्यहरुले भैँसीको राम्रो रेखदेख गर्नेभएकाले कहिलेकाहीँ आफू कृषि सम्वन्धि तालिममा सहभागि हुन सहज रुपमा जान पाएको बजगाँइ बताउँछन्।

अझ प्रशंसनीय कुरा त केछ भने, गत वर्षबाट मरिण गाउँपालिकाले उत्पादनमा आधारित दूधमा प्रोत्साहन भनेर दैनिक ८० लिटर दूध उत्पादन गर्ने किसानलाई ४७ प्रतिशत अनुदान समेत दिएको थियो । उनले गत वर्ष त्यही अनुदानबाट ५७ हजार ८ सय ९५ रुपैयाँ समेत पाएका थिए । उनी अहिले पालिकाभरका एक उत्कृष्ट कृषकको रुपमा समेत परिचित छन् । उनलाई पालिकाले केवल हौसला मात्रै हैन हरेक कुरामा प्रत्यक्ष र अपत्यक्ष रुपमा सहयोग समेत गर्दैआईरको छ । पालिकाले गरेको सहयोगप्रति बजगाँइ परिवार निकै खुसी छन् । स्थानीय सरकारले किसानलाई गरेको प्रोत्साहन तथा सहयोगप्रति परिवारले कृतज्ञता व्यक्त गरेको छ।

सुशिलको सफलता यतिवेला उनको परिवारमा मात्र सिमित छैन । समाजमै फैलिएको छ उनको श्रम र सफलताको कथा । पालिकाले एक सफल पशुपालकको नाम आफ्नो पालिका दस्तावेजमा चढाउन सफल भएको छ । बजगाँइको अनुसरण गर्दै वडा नं.७ का अरु केही युवाहरुले पनि व्यवसायिक पशुपालन गर्नेभएका छन् ।

मरिण गाउँपालिकाका पशु सेवा शाखा प्रमुख निता खड्काको अनुसार कार्यक्रमको मुख्य लक्ष्य भनेकै रोजगरी सिर्जना गरि गरिबी न्यूनीकरणमा योगदान पुर्याउनु हो । बिदेशबाट आएर नेपालमै राम्रोसँग व्यवसाय गरेको देख्दा आफूलाई निकै खुसी लागेको उनले बताइन् । पालिकाले उपलव्ध गराएको अनुदानलाई सही सदुपयोग गरेर सफलता प्राप्त गरेको देख्दा अरुले थप सहयोग उपलव्ध गराउनेखालका कार्यक्रमहरु थप गर्न मद्दत पुगेको खड्काको भनाई छ । पालिकाले यस वर्ष पनि संघको सहयोग र मरिण गाउँपालिकाको आयोजनामा पालिकाबासीहरुलाई उन्नत जातका मुर्रा भैंसी वितरण गर्न लागेको छ।

मलेसियाको ४० डिग्री गर्मीमा दिन रात नभनी हेलमेट लगाएर काम गर्ने युवा आज आफ्नै गाउँ, आफ्नै घर र आफ्नै गोठको चिसो हावामा बसेर श्रमको मूल्य लिइरहेका छन् । बजगाँई भन्छन् “विदेशले पैसा दियो, भैंसीले पैसासंगै इज्जत, खुसी र शान्ति दियो । मलाई अब फेरि बेखुसी र बेचैनीको उकुसमुकुस खप्न विदेश जानुछैन।”

नेपालमै बसेर यही व्यवसायलाई आधुनिक तरीकाले अगाडि बढाउने र नेपालमै बसेका बेरोजगार तथा वैदेशिक रोजगारबाट आएका अरु युवाहरुलाई यही पेशामा लाग्न प्रोत्साहित गर्ने बजगाँइको योजना छ । आफ्नो गोठमा केही पाडीहरु थपेर गाउँका अन्य केही युवाहरुलाई पनि आफ्नै फर्ममा रोजगार दिने लक्ष्य रहेको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *